लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका–२, ढेकावरस्थित केरवानी स्वास्थ्य चौकीमा मंगलबार स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ। शिविरबाट १७६ जना महिलाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजना, एरिया ३ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरूको सहआयोजना तथा केरवानी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। बिहान १० बजेदेखि सुरु भएको शिविरमा स्त्री, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ डा. नारायण जीसीसहितको स्वास्थ्य टोलीले महिलाहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेको थियो।
शिविरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार एक महिलाको VIA परीक्षण पोजिटिभ देखिएको छ। यस्तै, दुई महिलामा पाठेघरको क्यान्सर तथा एक महिलामा स्तन क्यान्सरको आशंका देखिएको जनाइएको छ। VIA परीक्षण पोजिटिभ आउनु वा क्यान्सरको आशंका देखिनु क्यान्सर पुष्टि हुनु भने होइन, त्यसका लागि थप परीक्षण आवश्यक हुन्छ।
त्यसैगरी, स्वास्थ्य परीक्षण गराएका आधाभन्दा बढी महिलामा सेतो पानी बग्ने तथा चिलाउने समस्या देखिएको जानकारी दिइएको छ।४ शिविरमा परीक्षण गर्न छुटेका महिलाहरूले केरवानी स्वास्थ्य चौकीबाट नियमित सेवाअन्तर्गत हरेक महिनाको १७ र ३० गते परीक्षण सेवा लिन सक्ने व्यवस्था गरिएको स्वास्थ्य चौकीका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक लायन काशीराम रेग्मीले जानकारी दिनुभयो।
शिविरको औपचारिक कार्यक्रम डिस्ट्रिक्ट एक्सन टिम कोर्डिनेटर लायन सुलोचना श्रेष्ठको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन सन्दीप कसौधनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नरहरू पीएमजेएफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग र पीएमजेएफ लायन अर्जुनमान सैंजु, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन अर्चित श्रेष्ठ, डिस्ट्रिक्ट एक्सन टिम कोर्डिनेटर एमजेएफ लायन विष्णु प्रसाद पौडेल, एरिया चिफ एमजेएफ लायन बैकुण्ठ कुमार श्रेष्ठ, एरिया ३ अन्तर्गतका क्लब अध्यक्ष तथा पदाधिकारी, विभिन्न डिस्ट्रिक्ट अफिसर, रिजन तथा जोन चेयरपर्सन, लायन्स सदस्य, जनप्रतिनिधि तथा स्थानीय सेवाग्राही महिलाहरूको सहभागिता थियो।
कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक लायन काशीराम रेग्मी, विशेषज्ञ डा. नारायण जीसी, देवदह नगरपालिका–२ का वडाध्यक्ष दल बहादुर राकसकोटी तथा देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन सन्दीप कसौधनले लायन्सले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा निरन्तर सेवामूलक कार्य गर्दै आएको बताउँदै यस्ता स्वास्थ्य शिविरले समुदायका नागरिकलाई समयमै स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।
एरिया चिफ एमजेएफ लायन बैकुण्ठ कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एरिया सेक्रेटरी लायन सन्तोष आचार्यले गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij