मंगलवार, कार्तिक ११ गते २०८३
लुम्बिनी पाना, देवदह। विश्व पोलियो दिवसको सन्दर्भमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको देवदहमा जनचेतनामूलक साइकल र्याली आयोजना हुने भएको छ।
रोटरी क्लब अफ देवदहको आयोजनामा, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लब अफ देवदह तथा इन्द्रेणी युवा क्लबको सहयोग र देवदह साइकल राइडर्स क्लब तथा देवदह जिम एन्ड फिटनेस सेन्टरको सहकार्यमा र्याली आयोजना गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो।
रोटरी क्लब अफ देवदहका पोलियो प्लस कार्यक्रम संयोजक डोलराज न्यौपानेका अनुसार पोलियो उन्मूलन अभियानबारे जनचेतना फैलाउने र यस अभियानमा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले र्याली आयोजना गर्न लागिएको हो। उनले पोलियो उन्मूलनका लागि खोप, जनचेतना र निरन्तर सतर्कता आवश्यक रहेको उल्लेख गर्दै पोलियोमुक्त समाज निर्माणका लागि सबैको साझा प्रयास महत्त्वपूर्ण हुने बताए।
रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारीले र्यालीको रुटबारे जानकारी दिँदै असोज ३१ गते शनिबार बिहान ७ बजे खैरेनी चोकबाट र्याली सुरु हुने बताए। उनका अनुसार र्याली खैरेनी-भलुही-रामनगर चोक-भवानिपुर सुनवल -६ नम्बर चोक ज्यामिरे हुँदै पुनः खैरेनी चोकमा पुगेर समापन हुनेछ। र्यालीमा साइकल, मोटरसाइकल तथा स्कुटरमार्फत सहभागी हुन सकिने उनले जानकारी दिए।
कार्यक्रममा सहभागीहरूका लागि ‘END POLIO NOW’ लेखिएका टी-सर्ट तथा क्यापको व्यवस्था गरिएको आयोजकले जनाएको छ। ‘Let’s Ride for a Polio-Free Future’ अर्थात् ‘पोलियोमुक्त भविष्यका लागि सँगै अघि बढौँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको र्यालीले पोलियो उन्मूलन अभियानमा जनसहभागिता बढाउनुका साथै समुदायमा जनचेतना फैलाउने विश्वास लिइएको छ।
रोटरी क्लब अफ देवदहका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले पोलियो उन्मूलनका लागि रोटरी क्लबले स्थापनाकालदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले पोलियोविरुद्धको अभियानलाई प्रभावकारी बनाउन रोटरीले विभिन्न कार्यक्रममार्फत निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै पोलियोमुक्त विश्व निर्माणको लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
रोटरी इन्टरनेसनलले सन् १९८५ मा पोलियो उन्मूलनका लागि ‘पोलियो प्लस’ अभियान सुरु गरेको थियो। त्यसपछि विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ (UNICEF) लगायतका साझेदार संस्थासँगको सहकार्यमा विश्वव्यापी पोलियो उन्मूलन अभियान अघि बढाइएको हो। यस अभियानमा रोटरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
नेपालमा पोलियो उन्मूलनका उपलब्धि कायम राख्न र विश्वलाई नै पोलियोमुक्त बनाउने साझा लक्ष्यमा योगदान पुर्याउन यस्ता जनचेतनामूलक कार्यक्रम महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ। रोटरी क्लब अफ देवदहले युवा, सञ्चारकर्मी, सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई र्यालीमा सहभागी भई अभियान सफल बनाउन आग्रह गरेको छ।
विश्व पोलियो दिवसको सन्दर्भमा आयोजना हुन लागेको यस कार्यक्रमले पोलियो उन्मूलनप्रति नागरिकको चासो र सहभागिता बढाउनुका साथै स्वस्थ तथा पोलियोमुक्त भविष्य निर्माणको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij