नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको स्थायी कमिटि सदस्य पम्फा भुसालले जानकारी दिइन्।अध्यक्ष ओलीलाई पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको उनले बताइन ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको नेतृ भुसालले जानकारी दिइन ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।
स्थायी कमिटीको अर्को बैठक मंगलबार बस्ने उनले जानकारी दिइन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij