लुम्बिनी पाना, बुटवल । नेपाल मगर महिला संघ, केन्द्रीय समितिले आफ्नो २९औँ स्थापना दिवस बुटवलमा विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। सो अवसरमा नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष सीता राना मगरले नेपालमा महिलाको जनसङ्ख्या ५१ प्रतिशत रहेकाले राज्यका हरेक निकाय र नीति निर्माण तहमा मगर महिलाहरूको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिइन् ।
मगर समुदायको ऐतिहासिक योगदानको चर्चा गर्दै उनले गौरवपूर्ण इतिहास निर्माणमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । कार्यक्रममा बोल्दै संघकी केन्द्रीय सदस्य सुनु थापा मगर, लुम्बिनी प्रदेश अध्यक्ष खुलप्रसाद पुन मगर र युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगरले मगर महिलाको अधिकार, पहिचान, क्षमता विकास र आत्मनिर्भरताका लागि गाउँदेखि केन्द्रसम्म सशक्त अभियान चलाउनुपर्ने धारणा राखे ।
यस्तै, बौद्ध समाजका केन्द्रीय अध्यक्ष शंकर गाहा मगर र मगर विद्यार्थी संघका केन्द्रीय सदस्य रामकुमार बुढा मगरले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग जोड्न तथा उच्च शिक्षा र सीपमार्फत महिला नेतृत्व विकास गर्न सहकार्यको आवश्यकता औँल्याए । नेपाल मगर महिला संघ रुपन्देहीकी अध्यक्ष निर्मला थापा मगरले जिल्लामा भाषा, साहित्य र कलाको प्रवर्द्धनका लागि 'मगर साहित्य महोत्सव' आयोजना गरिँदै आएको जानकारी दिँदै आगामी दिनमा महिलालाई आत्मनिर्भर र शिक्षित बनाउने कार्यक्रमलाई प्राथमिकता दिइने बताइन् ।
समारोहमा लेखक संघकी उपाध्यक्ष इरादा झाक्री मगर, प्रदेश अध्यक्ष केशरी तरामु मगर, जिल्ला सचिव राधिका श्रीस मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघकी केन्द्रीय अध्यक्ष चित्रा छन्त्याल श्रीस मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुमति बुढा मगरले स्वागत मन्तव्य र महासचिव चन्दा पुन मगरले सञ्चालन गरेकी थिइन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij