सोमवार, आश्विन १२ गते २०८३
निशान्त पाठक, दुबई । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा नेपाली महावाणिज्य दूतावास, दुबईमा झण्डोत्तोलन, राष्ट्रिय गान तथा ज्ञात–अज्ञात शहीदहरूको सम्मानमा मौनधारण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका कूटनीतिक कर्मचारीसहित नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएई, नेपाली समाज यूएई, विभिन्न वैचारिक संगठन, आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएईलगायत विभिन्न नेपाली संघसंस्था तथा समाजका प्रतिनिधि र विभिन्न पेशा तथा व्यवसायमा आबद्ध नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब २५ जनाको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत हरिप्रसाद ओडारीले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानले प्रत्याभूत गरेका हक, अधिकार तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै संघीय लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्नु सबैको दायित्व रहेको बताउनुभयो।
उहाँले मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल सरकारले सुशासन र समृद्धिका क्षेत्रमा अघि सारेका नीति तथा कार्यक्रम एवं विकास निर्माणका कार्यमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
महावाणिज्यदूत ओडारीले नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट उत्पन्न परिस्थितिको सामना गर्न नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आह्वान गर्नुभयो। कार्यक्रममा गैरआवासीय नेपाली संघ यूएई तथा यूएईमा क्रियाशील विभिन्न वैचारिक संघसंगठनका अध्यक्ष तथा प्रतिनिधि, नेपाली समाज यूएई, नेपाल पत्रकार महासंघ यूएईलगायत विभिन्न संघसंस्था तथा नेपाली समुदायका प्रतिनिधिहरूले संविधान दिवसका अवसरमा धारणा राखेका थिए।
उनीहरूले संविधानले प्रत्याभूत गरेका हक तथा अधिकारको संरक्षण र कार्यान्वयनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सञ्चालन नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij