राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बरिष्ठ नेता दिपक बोहोराले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असम्वैधानिक भएको बताउनु भएको छ । आइतबार रुपन्देहीको देवदहमा आयोजित सो पार्टीको नगर कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बोहोराले संविधानमा अर्को सरकार बन्ने अवस्था हुँदा सम्म प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्ने ब्यवस्था नभएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओली असम्बैधानिक रुपमा संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचनको पक्षमा रहेको उहाँले बताउनु भयो । संसद पूनस्थापना भए फेरी संसद किनबेचको फोहोरी खेल सुरु हुने भएकाले नयाँ जनादेशका लागि निर्वाचनमा जानु नै उत्तम विकल्प भएको उहाँको तर्क छ । संसद विघटनको बिषय अदालतमा विचाराधिन अवस्थामा रहेकाले अदालतले गर्ने निर्णय मान्न आफुहरु तयार रहेको उहाँले बताउनु भयो । नेता बोहोराले जनता नेकपा भित्रको झगडा सुन्दा सुन्दा थाकेको टिप्पणी गर्नु भएको छ । उहाँले सरकार र सडकमा भएको नेकपा दुबैले जनताको बिषय उठान नगरेको आरोप लगाउनु भयो । घण्टौ भाषण गर्दा दश मिनेट पनि जनताको बिषयमा नबोलेको उल्लेख गर्दै उहाँले जनता अभिभावक बिहिन अवस्थामा रहेको बताउनु भयो ।

पूर्व मन्त्री समेत रहनु भएका बोहोराले सुकुम्बासी समस्या समाधान आयोगले जग्गाधनी पूर्जा वितरण गर्दा अत्याधिक कर तिर्नु पर्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जाहेर गर्नु भयो । आफु स्वास्थ्य मन्त्री हुँदा मृर्गौला रोगी र स्पाइनल कड ईन्जुरी भएका बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने ब्यवस्था गरेको तर अहिलेको सरकारले राजनैतिक पूर्वाग्रह राखेर हटाइदिएको उहाँको आरोप छ । सोही कार्यक्रममा बोल्दै पूर्व मन्त्री निरञ्जन थापाले मौलिक पहिचान जोगाउन नेपाललाई हिंन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्नु भयो । उहाँले गणतन्त्रका नाममा युद्ध गर्नेहरु खाडीमा श्रम बेच्न बाध्य भएको उल्लेख गर्दै जनयुद्ध गर्न उक्साउनेहरु आलेसान जीवन बाँचेको आरोप लगाउनु भयो ।
सो कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, नेताहरु कैलाश गुरुङ, ताहिर अली, तोयानाथ लम्साल, सागर प्रताप राणा लगायतले बोल्नु भएको थियो । सो अवशरमा विभिन्न पार्टी परीत्याग गरी राप्रपा प्रवेश गरेका नवप्रवेशीहरुलाई बरिष्ठ नेता दिपक बोहोराले पार्टीमा स्वागत गर्नु भएको थियो । नवप्रवेशीहरुलाई उचित स्थान दिइने राप्रपा देवदह नगर अध्यक्ष माधव रीमालले बताउनु भएको भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij