निर्मल एसपी मगर
फागुन २४ ,देवदह । १ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर देवदह नगरपालिकाले आयोजनामा गरेको महिला संग उपप्रमुख कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भएको विषेश कार्यक्रममा बिभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरिएको छ।

कार्यक्रममा ई-रिक्सा तथा अटो चालक महिलाहरु देवदह ५ की भगवती कोइराला,देवदह ३ की गीता चापागाई र देवदह १० की आशा कुमारी घलानलाई सम्मान गरिएको छ। इमान्दार ,साहसिक र मर्यादित ढंगले आफ्नो पेशामा निरन्तर लागिरहेको भन्दै थप हौसला प्रदान होस् भन्ने उदेश्यले नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो।

देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री ,उपप्रमुख बिद्या लक्ष्मी गुरुङले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
त्यस्तै च्याउ फर्म संचालन गर्दै आउनुभएकी कृषक तथा महिला उद्यमी देवदह ४ की दिपा भट्टराई ,बेकरिज उद्योग संचालिका रेणु काफ्ले र शुसिला पोखरेललाई सम्मान गरिएको छ। कृषि तथा उद्योग संचालन गरि सफलता हासिल गरेको र आगामी दिनमा थप उर्जा र हौसला प्रदान गर्न सम्मान गरिएको उपप्रमुख बिद्या लक्ष्मी गुरुङले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख नगरप्रमुख हिरा बहादुर खत्रीले राजनैतिक रुपमा जो जहाँ भए पनि हिंसाका विरुद्ध एक भएर आवाज उठाउन जरुरी रहेको बताउनुभयो । उहाँले अपराधिलाई बचाउ गर्न कोहि पनि लाग्न नहुनेमा जोड दिनुभयो। महिलाहरुले हिंसा विरुद्ध चुप लागेर बस्न नहुने आवाज उठाउनु पर्नेमा उंहाले जोड दिनुभयो।
कार्यक्रममा वडा अध्यक्ष ,बिभिन्न राजनीतिक दलका प्रतिनिधि ,महिला संघमा आबद्द नेत्री तथा आमा समुहका प्रतिनिधिहरुले बोल्दै महिला हिंसा सदाका लागि अन्त्य गर्न सबै महिलाहरु एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रम सुरु हुनुभन्दा अघि देवदह खैरेनी चोक बाट कार्यक्रम स्थल शितलनगर देवदह आदर्श बहुमुखी क्याम्पस सम्म र्याली निकालिएको थियो।उपप्रमुख बिद्या लक्ष्मी गुरुङको अध्यक्षता र सरस्वति पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij