चैत्र १६ ,काठमाडौं । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो। उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए ।घरेलु दर्शकसामु नेपाली टिमले सुरुवातबाटै आक्रमण प्रदर्शन गरेको थियो ।
खेलको १७ औं मिनेटमा अनन्त तामाङको उत्कृष्ट हेड बल बंगलादेशका गोलकिपर अनिसुर रहमानले मुस्किलले बचाएका थिए ।तर, खेलको १८ औं मिनेटमा संजोक राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेपछि आएको बलमा संजोकले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरे ।मिडफिल्डर संजोकको यो डेब्यु गोल हो । संजोकले शनिबार बंगलादेशसँगको खेलमै राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।
यस गोलसँगै नेपालको गोलको खडेरी अन्त्य भएको छ । नेपाल पछिल्लो ७ खेलमा गोलविहिन रहेको थियो ।खेलको ३० औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो । बंगलादेशका गोलकिपर अघि बढेको अवस्थामा अन्जन विष्टको चिप प्रहार पोस्ट माथिबाट गएको थियो ।खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए ।
रंजित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले पोस्टको जाली चुमाएका हुन् । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपनि नेपाल २-१ ले विजयी भयो । जमल भुयाको कर्नर बलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरे ।यससँगै नेपालले तीन खेलपछि बंगलादेशलाई हराउँन सफल भएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij