बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चितवनमा कोरोना संक्रमितको चाप बढ्यो:अस्पतालहरुमा ठाउँ अभाव

चितवनमा कोरोना संक्रमितको चाप बढ्यो:अस्पतालहरुमा ठाउँ अभाव

images
  • 343
    SHARES

  • images
    images
    images
    चितवनमा कोरोना संक्रमितको चाप बढ्यो:अस्पतालहरुमा ठाउँ अभाव
    images
    images
    images


    चितवन : कोरोना संक्रमितहरुको चाप बढ्दै जाँदा चितवनका अस्पतालहरुमा बिरामी राख्ने ठाउँ अभाव हुन थालेको छ। चितवनका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेसनल सिटी अस्पतालमा अहिले कोरोना संक्रमितको उपचार भइरहेको छ। यी अस्पतालमा संक्रमितका लागि छुट्याइएका शय्या भरिन लागेका छन्। 

    चितवन मेडिकल कलेजले २५३ शय्या कोभिड उपचारका लागि भनेर छुट्याएकामा अहिले १५३ जना कोभिडका बिरामी रहेका छन्। अस्पतालका अपरेसन म्यानेजर पारस अधिकारीका अनुसार कोभिडका लागि ३० वटा भेन्टिलेटर छुट्याइएकामा अहिले त्यहाँ २९ बिरामी रहेका छन्। बाँकी भेन्टिलेटरलाई आकस्मिक कक्षमा प्रयोग गरिएको छ। २३ जना बिरामी एचडियुमा रहेका छन् भने १०१ जना सघन उपचार कक्षमा रहेको उन्ले जानकारी दिए। अस्पतालको आकस्मिक कक्षमा समेत बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।  

    images
    images
    images

    उनले भने, ‘कोभिडको रिपोर्ट नआएका तर भेन्टिलेटरमा राख्नु पर्नेलाई आकस्मिक कक्षमा राखी उपचार गरिरहेका छौं।’ अस्पतालमा बिरामीको चित्कार देख्दा दर्दनाक स्थिति भएको उनको भनाइ छ। अधिकारीले भने, ‘दैनिक जसो अस्पताल आउँदा आउँदै मत्यु हुने बिरामीको संख्या चारदेखि पाँचजना रहेका छन्।’ श्वासप्रश्वासमा समस्या भई अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भइसकेकाको स्वाब नै परीक्षण नगरी पठाउने गरिएको छ। बिरामीको चाप बढ्दै गए अस्पतालले अक्सिजन पु¥याउन नसक्ने उनले बताए।

    यस्तै, पुरानो मेडिकल कलेजमा पनि बिरामीको चाप बढेको छ। अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेका अनुसार अस्पतालमा अहिले ६६ कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालले  संक्रमित बिरामीको उपचारका लागि २०० शय्या छुट्याएर उपचार गरिरहेको छ। अस्पतालमा रहेका बिरामीमध्ये १२ जना भेन्टिलेटरमा रहेका छन्। सघन उपचार कक्ष ५२ र एचडियुमा दुईजनालाई राखेर उपचार गरिएको छ। न्यौपानेका अनुसार बिरामीको चाप बढ्दै गएको छ। यही अनुसार संक्रमित बढ्दै गए बिरामीको चापअनुसारको सेवा दिन अस्पताललाई कठिन हुने उनले बताए।

    उनले भने, ‘अहिले पनि सङ्क्रमण पुष्टि नभएका १३ जनालाई आकस्मिक कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौं।’ अहिलेसम्म अक्सिजन अभाव नभए पनि बिरामीको संख्या यसरी नै बढे अभाव हुने उनले बताए। उक्त अस्पतालमा पनि भेन्टिलेटर खाली छैनन्। 

    भरतपुर अस्पतालमा १३७ संक्रमितको उपचार भइरहेको छ। अस्पतालका सहायक सूचना अधिकारी नारायण रिजालका अनुसार अस्पतालममा कोभिडका बिरामी राख्ने क्षमता १४५ जनाको हो। पहिला १३५ जनाको क्षमता भए पनि आइतबार थप १० शय्या बनाइएको उनले जानकारी दिए। उनका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षमा नौ, एचडियुमा २५ र सामान्य कक्षमा १०३ बिरामी छन्। 

    अहिले अस्पतालमा आएका बिरामी सबैलाई अक्सिजन दिनुपर्ने भएकाले उपचार जटिल बन्दै गएको उनको भनाइ छ। सरकारी अस्पतालमा उपचार गर्ने सरकारको नीतिअनुसार संक्रमित थपिँदै गएमा अन्य कक्ष खाली गरी शय्या थप्दै लैजाने तयारीमा अस्पताल रहेको  छ। अहिलेकै अवस्थामा अक्सिजन पर्याप्त भए पनि बिरामी बढेमा समस्या आउने अस्पतालले जनाएको छ। 

    यता भरतपुरको बिपी कोइराला मेममोरियल क्यान्सर अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालले क्यान्सर रोग लागेका र कोरोना संक्रमण देखिएकालाई राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले आवश्यकतानुसार अस्पतालका सबै ४०० शय्या नै कोभिडको बिरामीका लागि प्रयोग गर्न सकिने बताए। अन्य अस्पतालमा बिरामीले उपचार गर्न नपाउने अवस्था आएमा क्यान्सर अस्पताललाई पनि प्रयोग गरिने उनले जानकारी दिए। 

    भरतपुरको चौबिसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालमा अहिले कोभिड संक्रमित १९ बिरामीको उपचार भइरहेको छ। उकत अस्पतालमा २० जना संक्रमितको उपचार गर्न सकिने अस्पतालका व्यवस्थापक सुजन अधिकारीले जानकारी दिए। उनका अनुसार अस्पतालको सघन उपचार कक्षममा ६ र कोभिड कक्षमा १३ जनाको उपचार भइरहेको छ। अस्पतालमा अक्सिजनको क्षमताअनुसार मात्र कोरोनाका बिरामी राख्ने उनले बताए। 

    यस्तै, नारायणी सामुदायिक अस्पताल र नेसनल सिटी अस्पतालले समेत कोरोना संक्रमितको उपचार सुरु गरेका छन्। नारायणी सामुदायिक अस्पतालमा अहिले १२ जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये तीनजनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। नेसनल सिटी अस्पतालमा एकजनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

    कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लाका अस्पतालमा ३९० जना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये १७६ संक्रमित चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका हुन्। आजसम्म नौ हजार ५१९ जना कोरोना संक्रमित भएका छन्।

    उपचारका लागि आउने बिरामीमा छिमेकी जिल्लाहरु धादिङ, लम्जुङ, गोरखा, मकवानपुर, बारा, पर्सा, रौतहट, कैलाली, नवलपुर, नवलपरासी, रुपन्देही, अर्घाखाँची र प्युठानका  रहेका छन्। कतिपय जिल्लाबाट हेलिकप्टरमा पनि बिरामी यहाँ ल्याइएको छ। अहिलेसम्म कोभिडका बिरामीका लागि शय्या भए पनि भेन्टिलेटरको अभावका कारण कतिपय बिरामीको मृत्यु हुने गरेको छ। रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०९:३५:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij