नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको बताए ।
‘हामीले अहिलेसम्म पनि सम्बन्ध विच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त सम्बन्ध विच्छेद भइ गयो नि ।’ अझै पनि पार्टी एकताका निम्ति ओलीलाई अवसर दिएको उनले बताए ।
‘एकताका निम्ति यो अन्तिम मौका र अवसर हो।’, नेता नेपालले भने । एकताको आधार र सर्तहरु लेखेर पठाइसकेको उनले बताए । ‘मैले लेखेर पत्र पठाएको छु । र आज राजीनामा दिएनौं । यो भनेको एकता जोगाउने अन्तिम अवसर हो’, नेता नेपालले भने ।
तर अनुपस्थित हुने निर्णय असन्तुष्टि र विरोधका निम्ति भएको उनले बताए । विश्वासको मत लिने प्रयोजनका निम्ति आज अहिले प्रतिनिधिसभाको विशेष अधिवेशन चलिरहेको छ ।
यो बैठक अगाडि नै सामुहिक राजीनामा दिने नेपाल समूहले तयारी गरेको थियो । तर, बिहान बसेको सांसदहरुको बैठकले राजीनामा नभएर अनुपस्थित हुने निर्णय गरेको छ ।रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij