जेठ २० । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जेठ ३१ गतेसम्म थपेको छ । बिहीबार जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डी.सी.सी.एम.सीको बैठकले तत्कालको अवस्थालाई दृष्टिगत गरि निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो । कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण तिब्र बन्दै गएकाले यसको नियन्त्रण, रोकथाम र उपचार व्यवस्थापनको लागि निषेधाज्ञाको आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
थप भएको निषेधाज्ञामा औषधी उपचार तथा
अत्यावश्यक काम बाहेक मार्निङवाक र ईभिनिङ वाक, सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने, सबै प्रकारका पार्टी प्यालेस, सिनेमाहल, सेमिनार , तालिम, गोष्ठी सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, व्युटिपार्लर, स्विमिङ पुल, संग्राहलय, पुस्ताकालय, सामूहिक खेलकुद र जिमखाना बन्द हुने छ । त्यस्तै बैंकमा एक–एक जना प्रविधिक जनशक्तिबाट सेवा प्रदान गरी सम्पूर्ण बैक र वित्तिय संस्थाहरु बन्द रहने छ ।
त्यस्तै शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द रहने छ ।
रुपन्देहीमा कोरोना संक्रमणको दोस्रो लहर फैलदा गत जेठ १६ गते देखि निषेधाज्ञा लागु गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij