बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एसईईको नतिजा साउन १५ भित्र

एसईईको नतिजा साउन १५ भित्र

images
  • 272
    SHARES

  • images
    images
    images
    एसईईको नतिजा साउन १५ भित्र
    images
    images
    images

    काठमाडौँ, जेठ ३१ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

    बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

    images
    images
    images

    विद्यालयको समयसीमा असार २०
    बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।

    मूल्याङ्कन समितिमा पाँच जना
    बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ । समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ ।
    गत वर्ष पनि विद्यार्थीको मूल्याङ्कनका लागि समिति बनाउने प्रावधान भए पनि सबै काम प्रधानाध्यापक एक्लैले गरेको गुनासो आएपछि यस पटक पाँच जनाको अनिवार्य हस्ताक्षरमा मात्र नतिजाको अन्तिम मूल्याङ्कन हुने कार्यविधि बोर्डले बनाएको छ ।
    बोर्डका अध्यक्ष पौडेलले पाँच जनाको हस्ताक्षरमा विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन नआए त्यसले मान्यता नपाउने र त्यो विद्यालयमै फिर्ता पठाइने जानकारी दिनुभयो । गत वर्षको आन्तरिक मूल्याङ्कनमा देखिएको त्रुटि कम गर्न यस पटक आन्तरिक सन्तुलनसहितको मोडालिटी बनाइएको छ । यसबाट विद्यालयमा प्रधानाध्यापकले आफूखुसी अङ्क दिने परिपाटीमा सुधार आउने र वास्तविक मूल्याङ्कनमा सहयोग पुग्ने जनाइएको छ ।

    अधिक मूल्याङ्कन गरिए फिर्ता

    बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको छ ।
    विद्यालय तथा जिल्ला समन्वय एकाइले निर्धारित समयमा काम पूरा गर्ने विश्वास व्यक्त गर्दै बोर्डका अध्यक्ष पौडेलले विद्यार्थीको समय खेर जान दिन नहुने बताउनुभयो । विगतमा पनि साउन मध्यबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरिएकोमा यस पटक दुई साताको हाराहारीमा मात्र विलम्ब हुने अवस्था देखिएको उहाँको भनाइ छ । सरकारले असार १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको र शिक्षकहरू विद्यालयकै सम्पर्कमा हुने भएका कारण एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कनलगायतका सबै काम निर्धारित समयमै हुने बोर्डको अपेक्षा छ ।गोरखापत्र बाट साभार 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ ३१ २०७८०९:१४:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij