बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देशभरका ३४ प्रयोगशालामा कोरोना परीक्षण हुन छाड्यो

देशभरका ३४ प्रयोगशालामा कोरोना परीक्षण हुन छाड्यो

images
  • 226
    SHARES

  • images
    images
    images
    देशभरका ३४ प्रयोगशालामा कोरोना परीक्षण हुन छाड्यो
    images
    images
    images

    काठमाडौं । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ ।

    जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही दिनयता कोरोना परीक्षण निकै घटेको पाइएको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा कोसी अस्पताल विराटनगर, न्युरो कोभिड अस्पताल विराटनगर, धनकुटा अस्पताल, नारायणी अस्पताल वीरगन्ज, जलेश्वर अस्पताल, सिराहा अस्पताल, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण नै नभएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ ।

    यस्तै, वीरेन्द्र अस्पताल छाउनी, केएमसी अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौं, हेटौंडा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगन्जमा पनि पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेन ।

    यस्तै, डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालगायत प्रयोगशालामा परीक्षण संख्या शून्य रहेको छ ।

    गत सोमबारदेखि हिजो आइतबारसम्मलाई आधार मान्दा दैनिक ७ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण भएको पाइएको छ । सो अवधिमा ५३ हजार ७ सय ७३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । जसमा १२ हजार ६ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि जेठ तेस्रो साता दैनिक ११ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।

    आइतबार ६ हजार जनाको पीसीआर र ३ हजार ८ सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट १ हजार ३ सय ५३ र एन्टिजेन विधिबाट ५ सय ६७ जनामा संक्रमण देखिएको थियो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले परीक्षण गराउन आउनेको संख्या घटेको बताए । परीक्षण गराउन आउनेको संख्या घट्दा संक्रमितको संख्या पनि घटेको देखिएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए ।

    यस्तै, आइतबार काठमाडौं उपत्यकामा थप ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा २ सय ९२, ललितपुरमा १ सय र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

    देशभर कोरोना संक्रमित हुनेको संख्या ६ लाख ६५ हजार ७ सय ७७ पुगेको छ । गत २४ घण्टामा ३४ जना संक्रमतिको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

    गत २४ घण्टामा ३ हजार ७ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३६ रहेको छ ।

    यस्तै, केही दिनयता गम्भीर संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा ७ सय ६ जना आईसीयू र २ सय जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । संक्रमितको संख्या घटे पनि हेलचेक्र्याइँ नगर्न विज्ञहरूले सुझाएका छन् ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आषाढ १४ २०७८०८:५४:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij