काठमाडौं । कोपा अमेरिकाको समूह चरणको अन्तिम खेलमा इक्वेइडरले ब्राजिललाई बराबरीमा रोकेको छ । सोमबार बिहान भएको समूह ‘बी’ अन्तर्गतको खेलमा ब्राजिललाई इक्वेइडरले १-१ गोलको बराबरीमा रोकेको हो ।
बराबरीसँगै इक्वेइडर अन्तिम आठमा पुगेको छ । अपराजित ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकाल्दै अन्तिम आठमा पुगेको थियो ।
ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा एन्जल मेनाले बराबरी गोल फर्काएका थिए ।
समूहको अर्को खेलमा पेरुले भेनेजुएलामाथि १-० को जित हासिल गर्यो । खेलको ४८ औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । यस जितले पेरु समूह बी को दोस्रो स्थानमा रहन सफल भयो ।
समग्रमा ब्राजिलले ४ खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गर्यो । पेरुले ४ खेलमा ७ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ४ अंक जोडेको कोलोम्बिया तेस्रो भयो । ब्राजिललाई बराबरीमा रोक्दै इक्वेडर कुल ३ अंकसाथ चौथो भयो । भेनेजुएलाभने २ अंकसाथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij