काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन महिनाको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोरोना भाइरस माहामारी संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा साउन चौथो हप्ता गर्ने बोर्डले तयारी थालेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए । गत जेठ २६ गते परीक्षा गर्ने तय गरेको बोर्डले कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि परीक्षा स्थगित गरेको थियो ।
माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूणर्ांककै लिने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूणर्ांककै परीक्षा गर्ने तयारी गरेको बताएको छ । बोर्डले गतवर्ष समय र अंकभार घटाएर विद्यार्थी अध्ययनरत विद्यालयमा परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष कक्षा १२ को परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij