काठमाडौं । देशभर आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ‘२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभरि खोप अभियान सञ्चालन गर्ने’, विभागको परिपत्रमा भनिएको छ ।
५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ । सरकारले असोजसम्म नेपालमा कोभिड १९ विरुद्धको झण्डै दुई करोड डोज खोप ल्याउने दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई पुग्नेगरी खोप ल्याउने जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij