तालिबानी लडाकुले अहिले भर्खरै अफगिस्तानको मुख्य शहर जलालाबादमा पनि कब्जा गरेका समाचार बाहिरिएका छन् । यससँगै राजधानी काबुलको देशका पूर्वी क्षेत्रसँग सम्पर्क विच्छेद भएको छ। आइतबार बिहान तालिबानले केही तस्वीर अनलाइनमार्फत जारी गरेका थिए जसमा तालिबानी लडाकुहरुलाई नांगरहार प्रान्तको राजधानी जलालाबादमा गभर्नरको कार्यालयमा देख्न सकिन्छ।
तालिबानले अफगानिस्तानको ठूलो क्षेत्रमा कब्जा गरिसकेको छ र यससँगै अफगानिस्तानको सरकार दबाबमा आएको छ। एक महिना अगाडिसम्म जलालाबादका जनतालाई तालिबानीको कुनै डर थिएन तर अब त्यहाँ पनि तालिबानीको कब्जा भइसकेको छ।
अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालय संग अहिले जम्मा १५ सय जनाको तथ्यांक आएको छ । उद्दार प्रक्रिया शुरू गरिसकेका छौं । युएन, अमेरीका, भारत लगायतका देशका कूटनीतिक नियोगमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेका नेपालीहरूलाई उद्दार गर्न सम्बन्धित देशलाई नै हामीले अनुरोध गरेका छौं ।'
ती देशहरूले आफ्ना नागरिक उद्दार गर्दा नेपालीहरूको पनि सँगै उद्दार गरिदिन आग्रह गरिएको पत्र परराष्ट्र मन्त्रालयले धमाधम पठाउन थालेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन ।
यसबाहेक अफगान मामिला नेपालको दिल्लीस्थित राजदूतावासबाट हेरिने भएकाले भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य पनि सक्रियताका साथ खटिरहेका छन् ।अफगानिस्तानमा ६ हजार भन्दा बढी नेपाली रहेको विभिन्न तथ्यांकहरूले देखाएका छन् । तर सरकारी आँकडामा भने जम्मा १५ सय नेपालीको सूची रहेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij