भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर छानविन सुरु गरेको छ ।
अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली खटाएर आजबाट गुणस्तर छानविन थालेको हो । विश्व पर्यटन केन्द्र लुम्बिनीलाई लक्षित गरी बनाइएको यो सडक ६ महिना नपुग्दै ठाउँ–ठाउँमा भत्किएको छ, खाल्डैखाल्डा बनेको छ भने कतै दवेको छ ।

सडकको अवस्थाबारे न्यूज २४ मा समाचार प्रशारण भएको थियो । समाचार प्रशारण पछि अख्तियार टोलीले गुणस्तर जाँचका लागि सडकमा प्रयोग गरिएको मेट्रियलको नमूना लिइरहेको छ । नमूना संकलनमा खटिएका इन्जिनियर आचार्यले ४१ किलोमिटर सडक क्षेत्रको ठाउँ–ठाउँबाट नमूना संकलन गरी काठमाडौंमा लगेर गुणस्तर जाँच गरिने बताए ।
उनले सडकको गुणस्तरबारे प्रश्न उठेपछि छाविन सुरु भएको जानकारी दिएका छन् । भैरहवाको बुद्धचोकबाट गौतम बुद्ध विमानस्थलसम्मको ६ लेन क्षेत्र निश्चित तापक्रममा तताइएको गिट्टी, अलकत्रा बिछ्याएर तत्कालै पेल्ने आस्फाल्ट प्रविधिबाट र त्यहाँबाट तौलिहवासम्मको सडक डीभीएसटी सर्फेस ड्रेसिङ (अलकत्रा बिछ्याएर माथिबाट गिट्टी छरेर पेल्ने) प्रविधिबाट कालोपत्र गरिएको हो । तर, यहाँ प्रयोग गरिएका यी दुवै प्रविधि सफल भएनन् । छोटो समयमै सडक भत्किएपछि चौतर्फी आलोचना सुरु भएको छ ।
निर्माणधीन अवस्थामा आयोजना र परामर्शदाताले निरीक्षण तथा अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको हो । जसले गर्दा सडक धुजाधुजा बनेको छ ।
कम्तिमा पँच वर्ष टिकाउ हुने भनिएको यो सडकखण्ड भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ३.८ किमि ६ लेन, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्मको १४.५ किमि चार लेन र पर्साचोकदेखि तौलिहवासम्मको करिब २३ किमि दुई लेन निर्माण गर्नका लागि भारतको ठेकेदार कम्पनी गावर कन्स्ट्रक्सन गुडगाव, हरियाणासँग २०७४ असार ८ मा ठेक्का सम्झौता भएको थियो ।
२०७६ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा थालिएको यस आयोजनाको सुरुको ठेक्का रकम १ अर्ब ९३ करोड रुपैयाँ हो । पछि थप गरेर लागत २ अर्ब ८ करोडभन्दा बढी पु¥याइएको थियो ।
कुल लगानीमध्ये एसियाली विकास बैंकको ८४.५ प्रतिशत र बाँकी नेपाल सरकारको हो । सन २०२० को डिसेम्बरमा निर्माण सकिएको सडक अहिले जताततै भत्किएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij