खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १ सय ५ बलमा ३ चौका प्रहार गरे । कप्तान मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् । मल्लले ३ सय ६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । उनले पूर्व कप्तान पारस खड्काले बनाएको ३ सय १५ रनको रेकर्ड तोडेका हुन् । यस्तै ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । करण केसी १२ रनमा आउट हुँदा विनोद भण्डारी १० रन जोड्दा आउट भए । रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट हुँदा कुशल मल्लले खाता खोल्न सकेनन् । ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे । अमेरिकाका सौरभ नेत्राभाल्करले ४ विकेट लिए । केली फिलिपले ३ विकेट लिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij