बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए । उनीहरुले लामो समय सम्म पनि नगरले आफुहरुलाई सहयोग नगरेको भन्दै आक्रोश पोखेका हुन् । आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन् । यद्यपि बुटवल उपमहानगरको सचिवालयले भने केहि अराजक झुंडले नगर प्रमुख सुवेदी माथी हातपातको प्रयास गरेको बताएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धार, पुनस्थापना र तत्कालीन राहत सहित करिब डेढ करोड बराबरका सुरक्षा प्रवन्धका काम भइरहेका छन् । रातिदेखि परेको पानीले पहिरो खसेर केही घरमा क्षति पुगेको र नाली थुनिएको सूचना पाउँदासाथ उपमहानगरका प्राविधिक लिएर प्रमुख शिवराज सुवेदी,उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, इन्जिनियरहरु सुमन श्रेष्ठ, योगेश चापागाइँ, लक्ष्मण अर्याल, नगर योजना आयोगका अधिकारीसहितको टोली निरीक्षणमा पुगेको थियो । पहिराले विस्थापितलाई तत्काल अस्थायी रुपमै सुरिक्षत स्थानमा व्यवस्थापन गर्ने, विस्थापित भएका पहिरो प्रभावित सबैको सुरक्षित आवासका लागि दीर्घकालीन समाधानको पहल गर्ने बारेमा उपमहानगरले मातहतका सरकारसमेत संगको सहकार्यमा योजना बनाइरहेको छ । पहिरो प्रभावित क्षेत्रका पीडितलाई प्रत्यक्ष भेट्ने, उद्दारका काममा ढिलाई र कमी हुन नदिने, त्यहाँ भइरहेका सुरक्षा प्रबन्धका कामलाई प्रभावकारी बनाउन लगाउने र प्रत्यक्ष अवलोकन गर्न प्रमुख सुवेदी त्यहाँ जानुभएको हो । सोहीक्रममा भिडमा कतैबाट दौडिएर आएका एकजना युवाले प्रमुखमाथि आक्रमण प्रयास गरेका हुन । उनलाई सुरक्षाकर्मीले पहिचान गरेको र ज्योतिनगरमा क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताइएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij