पत्रपत्रिका
लुम्बिनी ।लुम्बिनीमा पर्यटक भित्र्याउन यहाँका होटल व्यवसायीहरूले सस्तो प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ। तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात र दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ। आजदेखि शुरु हुने गरी दुई हजार १ सय ९९ रूपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टूर कार्यक्रम घोषणा भएको हो । लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए। कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर ल्याइएको हो। ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनाअघिदेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ। धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन् । होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्ने बाध्यता रहेकाले अफर गरी पर्यटक बोलाउन बाध्य भएको व्यवशायीको भनाई छ। महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायी बताउँछन् । संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिने छ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक विष्टर भ्रमण गराई रात्रिभोजन गराई विश्राम दिइने छ। प्याकेजको दोस्रो दिनमा विज्ञानको खाजादेखि मायादेवी मन्दिर गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र बिदाइ रहेका छन् । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिए।यो खबर आजको बुटवल टुडेमा प्रकाशित छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij