स्थानीय गतिविधि
देवदह।देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सबैखाले सहयोग गर्न नगरपालिका हरदम तयार रहेको बताएका छन् । विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज डिनको कार्यालयले शुक्रबार देवदहमा आयोजना गरेको परिचयात्मक तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख खत्रीले उक्त कुरा बताएका हुन् । धैर्यता बिना मानिसले सफलता हासिल गर्न नसक्ने बताउदै नगर प्रमुख खत्रीले योजना बनाएर कार्वन्यन गरि स्रोतको पहिचान गरि अगाडि बढ्नुपर्ने बताउनु भएको थियो।लुम्बिनी विश्वविद्यालयलाई देवदहले सबैभन्दा धेरै जग्गा उपलब्ध गराएको उल्लेख गर्दै नगर प्रमुख खत्रीले लुम्बिनीस्थित विश्वविद्यालयको मुख्य केन्द्र देवदहलाई बनाउनु पर्ने भनाई व्यक्त गर्नु भएको थियो। विश्वविद्यालयका डिन उकेशराज भुजुले विश्वविद्यालयको उद्देश्यबारे प्रकाश पार्दै छिट्टै तीन वटा विषयमा देवदहमै अध्यापन गराईने जानकारी दिए । बौद्ध दर्शन अर्थात बुद्धले दिएको सन्देशलाई बिश्वभर फैलाउन आवश्यक रहेको भुजुले बताउनु भयो।बिश्व विद्यालय बन्ने स्थान बुद्द मावली सामुदायिक बनलाई तपोवनको रुपमा परिमार्जन गरि ध्यान केन्द्र बनाउने र शान्ति क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । विश्वविद्यालयका अनुसन्धान केन्द्रका निर्देशक जीतु गीरीले बृहत बौद्द शिक्षाका लागि बर्दघाट देखि कपिलवस्तु सम्म बुद्द सर्किटको रुपमा बिकास गर्नुपर्ने उल्लेख गर्नुभयो। विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले डिनको कार्यालय संचालनका लागि कोशेली भवन प्रदान गरेकोमा देवदह नगरपालिकालागी धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले हरदम सहयोग गरेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए। कार्यक्रम सुरु हुनु अघि बुद्ध भिक्षु आनन्दले बुद्ध बन्दना वाचन गर्नु भएको थियो। विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्य, विभिन्न वडाका जनप्रतिनिधिहरू,प्राध्यापक तथा विश्वविद्यालयका अधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij