बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्दहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार हुँदै छ । संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यवस्थासहित साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थाका दुधबाट बनेका परिकारलगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद) ले बताए । उनका अनुसार एक बस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका वस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराइने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराए । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अघिल्लो वर्ष हुन सकेको थिएन । यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामग्री, मसला, माछामासुलगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij