पत्रपत्रिका
बुटवल ।रूपन्देही प्रहरीले ६ महिनामा झण्डै ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ। गत बैशाखदेखि कात्तिक ४ गतेसम्मको अवधिमा पाँच करोड ९६ लाख आठहजार ४३७ रुपियाँ बराबरको तस्करीको सामान रूपन्देही प्रहरीले बरामद गरेको हो । बरामद सबै सामान भन्सार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ । यो महिना एक करोड ४४ लाख दुई हजार ११० रुपियाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। त्यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार ८१० रुपियाँ बराबरको सामान बरामद भएको छ । प्रहरीका अनुसार बैशाखमा एक करोड चारलाख तीनहजार ४१२, जेठमा १२ लाख ७३ हजार ८८०, असारमा एक करोड पाँच लाख २९ हजार ६९६, भदौमा ८५ लाख चारहजार २८९ र कात्तिक ४ गतेसम्म १९ लाख ९८ हजार १६० रूपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ। चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाइएको पनि प्रहरी सहायक प्रवक्ता चन्दले बताए। रूपन्देहीका विभिन्न सीमानाकाहरूवाद तस्करी गरी सामान ल्याउने क्रम नरोकिंदा राजश्वमा समेत असर परेको छ। जिल्लाको बेलहिया नाका नेपाल भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन कुखुराका चल्ला, लागूऔषध लगायतका सामग्रीहरूको तस्करी बढि मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij