मिडिया बजेट
बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै सञ्चार सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज र एलायन्स फर कम्युनिटी मिडियाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरकारले तोक आदेशको भरमा आफूनिकटका निजी सञ्चारलाई अनुदान दिने, घर बनाउन र पर्खाल घेर्नेदेखि लिएर उपकरण खरिद गर्नेजस्ता शीर्षकमा बजेट छुट्टाइएको भन्दै विरोध जनाएका छन् ।
प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालले जारी गरेको विज्ञप्तिमा यस्ता बेथितिहरुलाई तत्काल रोकी सञ्चार माध्यमलाई नगद अनुदानभन्दा पनि समानुपातिक विज्ञापन वितरण प्रणाली अंगीकार गर्न आग्रह गरेका छन् । यस्तै अघिल्लो सरकारले राखेका सञ्चारसम्बन्धी कतिपय कल्याणकारी कोषको बजेट कटौती गरिएको हुँदा पुनः बजेटलाई पुनरावलोकन गरी बजेट तथा लुम्बिनी प्रदेश सरकार मिडियामैत्री बन्नका लागि आग्रह गरिएको छ । विज्ञप्तिमा समानुपातिक विज्ञापन वितरणको व्यवस्था ध्यानाकर्षण गराइएको छ ।
यस्तै सामुदायिक टेलिभिजनहरुको संस्था एलायन्स फर कम्युनिटी मिडियाका संयोजक दिनेश पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा शाही शासनका समयमा पत्रकारहरुलाई हुण्डी वितरण गरेजस्तै निश्चित सञ्चार माध्यमलाई लाभ पुग्ने गरी रकम वितरण गरिनु नैतिकता र आर्थिक अनुशासनविरुद्धको काम भएको उल्लेख गरेका छन् । प्रदेश सरकारले विधेयकमार्फत ल्याएको बजेटमा कुलप्रसाद केसीको गृहजिल्ला रोल्पाको रेडियो जलजलको लागि ३५ लाख, माओवादी केन्द्र निकट प्रेस सेन्टरका बसन्त गिरी प्रधान सम्पादक रहेको बुद्द दर्पण दैनिक कपिलवस्तुको लागि २० लाख, रेडियो मायादेवी र रेडियो बुद्दआवाजका लागि ५ लाख र बुद्द दर्पणको संचार भवनको लागि भन्दै थप २० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै रेडियो रोल्पा र जलजला एफएमको लागि थप शिर्षकमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ।यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको 'अफसेट प्रेसको लागि प्रदेश सरकारले २० लाख छुट्टयाएको छ।यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरिदको लागि भन्दै ५ लाख रेडियो माडी आवाजलाई मेसिनरी खरिदका लागि १० लाख रुपैयाँ,रेडियो देवदहको लागि १० लाख,सामुदायिक रेडियो कपिलवस्तुको बाल कम्पाउण्ड वाल बनाउन ५ लाख,सामुदायिक रेडियो प्रशारक संघ,ब्रोडकास्टिङ एशोसियसन र महिलाहरूको रेडियोको लागि ५/५ लाख रकम विनियोजन गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij