देवदह। शितलनगर मगर समाज देवदह ७ को आयोजनामा देवदहमा 'मगर संस्कार,संस्कृतिको जर्गेना' कार्यक्रम सम्पन्न भएको छ। देवदह ७ मा अवस्थित ओम दर्शन पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अथिति देवदह नगरपालिकाका कार्यवहाक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गले संस्कृति र संस्कारको जगेर्ना गर्दै विकृति र विसंगति लाई सुधार गर्नुपर्ने बताउनु भएको छ। नेपालमा रहेका विभिन्न जातीय भाषा, सस्कार संस्कृतिको संरक्षणको लागि नगरपालिकाले सहयोग गर्दै आएको दावी गर्दै भाषा संस्कृति संरक्षणका लागि नगरपालिका सधै प्रतिबद्द रहेको बताउनु भएको छ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टा,देवदह ६,का वडाअध्यक्ष दामोदर क्षेत्री, देवदह ७ का वडाअध्यक्ष पदमबहादुर थापा,नेपाल मगर संघका जिल्ला सदस्य केशरबहादुर पुन,नगर अध्यक्ष शोभाकुमारी थापा,प्रहरी निरिक्षक गंगाबहादुर सारु, नेपाल आदिवासी जनजाति महासंघ देवदहका मिना श्रेष्ठ,सगरमाथा कलेजका प्राचार्य कृष्णप्रसाद पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा पछिल्लो समय समाजिक संजालमा भाइरल भएका चर्चित हास्य कलाकार पुष्पा मगर,लोक संस्कृतिका सर्जक सालैजो गायक खिम रेश्मीले आ–आफना प्रस्तुती प्रस्तुत राखेका थिए। साथै मगर संस्कृति झल्किने सोरठी, कौडा, हाईमुराली, झ्याउरे,सालैजो लगायतका गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो।
शितलनगर मगर समाजका अध्यक्ष इन्द्रबहादुर रजालीको अध्यक्षतामा भएको कार्यक्रम समाजमा उपाध्यक्ष ईमा रानाको स्वागत,खड्क बहादुर पुन र सांस्कृतिक संयोजक प्रेम थापाको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij