देवदह । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सहकारीलाई उत्पादनमा जोडिन आग्रह गरेका छन् । देवदहस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष क्षेत्रीले सहकारीहरूलाई साना कृषि देखि बुटवल धागो कारखाना जस्ता ठुला उत्पादनमुलक उद्योगमा लगानी गर्न आग्रह गरेका हुन् ।त्यसै गरि बुटवल धागो कारखाना,लुम्बिनी चिनी उद्योग,कपास कारखाना जस्ता बन्द भएका उद्योगहरु संचालन गर्न प्रदेश सरकारले छलफल गर्ने तयारी गरेको समेत क्षेत्रिले बताए।
साधारणसभालाई सम्बोधन गर्दै उपाध्यक्ष क्षेत्रीले सहकारीहरूले अनुत्पादक क्षेत्रबाट ध्यान हटाएर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नैपर्ने बताए । उनले भने, "तपाईंहरू साना कृषिदेखि बुटवल धागो कारखाना जस्ता ठुला उद्योगमा लगानी गर्न तयार हुनुस् । देवदह जस्ता स्थानका सहकारीका सदस्यहरूले १०-१० हजार मात्रै लगानी गर्ने हो भने हामी हाल बन्द रहेको बुटवल धागो कारखाना संचालन गर्न सक्छौं । त्यो योजना हामीले बनाईरहेका छौँ ।"
भारतीय ब्राण्ड 'अमुल बटर' को उदाहरण दिंदै क्षेत्रीले छरिएको पुँजीलाई एकीकृत गर्न सके राम्रो ब्रान्ड बन्न समय नलाग्ने बताए । सम्बोधनका क्रममा बारम्बार बुटवल धागो कारखाना र सुनवल चिनिमिल संचालनमा सहकारी जोडिन सके उद्योग दिगो रुपमा चल्न सक्ने उत्पादनसंगै रोजागारीमा समेत वृद्धि हुनेमा क्षेत्रीले जोड दिएका थिए ।
औंलामा गन्न सकिने केही सहकारीमात्रै सहकारीको नियमावली अन्तर्गत चलेको र अधिकांश सहकारी नियमावली विपरितका आर्थिक गतिविधिमा संलग्न भएको उल्लेख गर्दै उपाध्यक्ष क्षेत्रीले कृषि सहकारीले समेत कृषिमा लगानी नगरेको बताए ।
देवदह लगायत लुम्बिनी प्रदेशका कुनैपनि किसानलाई ऋण चाहिए पाँच बर्षकालागि बिना धितो र विना ब्याज १५ लाखसम्म रकम उपलब्ध गराईने बताउँदै उपाध्यक्ष क्षेत्रीले किसानको उत्पादन बिक्रीमा समेत कुनै पनि समस्या हुन नदिने जिकिर गरे ।
कार्यक्रममा निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पबित्र रिमाल,पल्लवी साकोसका अध्यक्ष प्रमोद खनाल,कोलिय देवदह सहकारीका अध्यक्ष सुबकान्त न्यौपाने लगायतले शुभकामना मन्तब्य गर्नु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij