जनकपुरधाम । मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्– रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल संचालन हुन्छ, तपाईंसँग मेरो प्रतिवद्धता हो ।’
तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल संचालनको टुंगो छैन । हुन त रेल संचालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ ।
यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।
मंगलबार भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसाधारणमा उत्साह थिएन ।
कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल संचालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।
भारत सरकारले नेपालमा चाँडोभन्दा चाडो रेल संचालन हुन सक्कोस् भन्ने चाहना राखेको भन्दै उनले भने, ‘हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौं । अब नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौं ।’
यो भनाइले पनि भारतले उत्तर प्रदेशमा हुने चुनावलाई मध्येनजर गरेर नेपालमा रेल चलाउन तयार रहे पनि नेपालले अहिलेसम्म खासै प्रगति गरेको छैद्द ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताए । रेल संचालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।
पुरानो कर्मचारी हटाएर नयाँ कर्मचारी राख्ने दाउँमा महाप्रबन्धक झा रेल्वेका तत्कालीन महाप्रबन्धक भट्टराईकै समयमा भारतीय रेल्वे कम्पनी कोंकणसँग प्राविधिक कर्मचारीको सहयोग लिए रेल संचालनको सम्झौता भएको थियो । सम्झौता अनुसार रेल चलाउने, रेलको सर्भिसिङ तथा नेपाली कर्मचारीलाई तालिम दिने गरी वार्षिक २२ करोड भारतीय रुपैयाँ नेपाल रेल्वे ती कम्पनीलाई बुझाउने गरि सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले पहिलो किस्ता बापतको साढे ७ करोड नेपाली रुपैयाँसमेत बुझाइसकेको छ ।
भारतीय कम्पनीले सम्झौता अनुसार नेपालका करिब ढेड सय कर्मचारीलाई दुई चरणमा झण्डै २० दिन तालिम पनि दियो । तर नेपालमा केपी ओली नेतृत्वको सरकार परिवर्तन भएपछि भट्टराई पनि महाप्रबन्धकबाट बर्खास्त भए ।
अहिले कांग्रेसका नेता झा महाप्रबन्धक छन् । महाप्रबन्धक झा आएलगतै तालिम लिएका सबै कर्मचारीलाई हटाए । अहिले रेल चालकसहित २६ जना प्राविधिक टोली कोङकणले दिए पनि अन्य कर्मचारी नेपालसँग छैनन् ।
महाप्रबन्धक झा पुनः नयाँ कर्मचारीलाई भर्ना गर्ने दाउमा रहेका छन् । विगतमा झण्डै डेढ सय कर्मचारीलाई २० दिनको तालिम दिन ८० लाख भन्दा बढी रकम खर्च भएको थियो । तर, महाप्रबन्धक ती कर्मचारीलाई नराखेर आफ्ना कार्यकर्ता भर्ना गर्ने दाउमा रहेको रेल्वेका एक कर्मचारीले बताए ।
भारतीय पक्षले गत ५ कात्तिकमा रेल्वेका केही काम बाँकी नै राखेर भवन नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।रेल्वे कर्मचारीका लागि निर्माण गरेको आवास भवन वर्षायाममा चुहिने भएकोले त्यसको मर्मत, स्टेशन, हल्ट तथा आवास भवनमा विजुली वत्ती, पानीको सप्लाई, प्लबिङ्गको काम,भवनमा झ्यालढोका, हलमा शौचालयको निर्माण लगायतका काम अझै बाँकी छ ।
हस्तान्तरणको समयमा भारतीय पक्षले एक महिनाभित्रमा ती काम पूरा गर्ने आश्वासन दिए पनि काम भएको छैन ।
रेल्वको १४ हजार क्लिप फेरि चोरिए
कुर्था–जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए ।
रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । महाप्रबन्धक झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको छ ।’
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर–बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।
चेक गर्नका लागि गुडाइयो
धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ ।
पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ ।
२०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि इनर्वा स्टेशनमा पार्किङ गरी राखिएको छ । लामो समयसम्म पार्किङ गरेर राखिएका कारण रेलको पार्टपूर्जाको अवस्थाबारे बुझ्न परीक्षण गरिएको महाप्रबन्धक झाले बताए ।
इनर्वा स्टेशनमा राखिएको रेल जनकपुरधाम हुँदै कुर्थासम्म पुगेको छ । कुर्थाबाट पुनः रेल घुमाएर जनकपुरधामसम्म ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।भारतबाट ल्याएदेखि नै रेललाई त्रिपालले छोपेर राखिएको थियो । तर पछिल्लो समयमा त्रिपाल पनि च्यातिइसकेको थियो ।
बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्न थालेको अवस्थामा रेल गुडाएर परीक्षण गरिएको छ । महाप्रबन्धक झाले रेल सञ्चालन गर्नकै निम्ति परीक्षण गर्न लागिएको बताए ।
जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत बर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरीद गरेर ल्याएको थियो ।भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।
नेपाल रेल्वे कम्पनीका अनुसार रेल १६०० एचपी डेमुको हो । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।एउटा रेलमा ५ वटा डिब्बा रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।एउटा रेल सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्ने क्षमता रहेको छ । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा गुड्न सक्ने क्षमताको छ ।
भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म संचालनका लागि रेल खरि गरिएको भएपनि ट्रयाक तयार भएको जयनगरदेखि कुर्थासम्मको ३४ किलोमिटरमा पनि रेल सञ्चालन हुन सकेको छैन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij