देवदह। देवदहमा सुकुम्बासी समस्या समधानका लागि आगामी कार्यहरु कसरि अघि बढाउने भन्ने बिषयमा सर्वदलिय बैठक सम्पन्न भएको छ। २०७७ साल पुष ३ गते भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासिको लागत प्रविष्टि तथा नापनक्साको कार्य गर्नका लागि देवदह नगरपालिकामा लागत संकलन इकाई कार्यालय स्थापना भई ३५ दिन सम्म लागत संकलन गरिएको थियो।
बैठकमा भूमि सम्बन्धि समस्या समाधान आयोग लागत संकलन इकाई देवदहका संयोजक, देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले कहिँ कतै नअल्मलिकन भूमि सम्बन्धि समस्या समाधान गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभयो। पहिलो चरणमा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासि गरि १४ हजार ३ सय ५७ फारम संकलन भैसकेको र छुटपुटका लागि यही माघ १८ गते देखि २४ गते सम्म संकलनका लागि सूचना जारि गरि संकलन गरिने नगर प्रमुख खत्रीले बताउनुभयो। भूमि सम्बन्धि समस्या देवदह क्षेत्रको पुरानो समस्या भएको र अन्य आयोजना कटौती गरेर भए पनि भूमि सम्बन्धि समस्या समाधान गर्न नगरपालिका प्रतिबद्द रहेको बताउनुभयो।

त्यस्तै इकाईका सह संयोजक तथा देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले भूमि सम्बन्धि समस्या समाधान गर्न बनेको इकाईले ४० प्रतिशत काम सकिसकेको बताउनुभएको छ। राजनीतिक दलले चुनावी नाराको रुपमा भूमि सम्बन्धि समस्या समाधान गरि पुर्जा दिने भनेर सर्वसाधारणलाई आश्वासन दिएको र जनतालाई चुनावको बेलामा गरेको वाचा पुरा गर्नुपर्ने बेला आएको बताउनुभयो। नगरपालिकाले भूमि सम्बन्धि समस्या समाधानका लागि डेढ करोड बजेट छुट्याएको बताउंदै पहिलो प्राथमिकतानै भूमि सम्बन्धि समस्या समाधानलाई दिएको उपप्रमुख गुरुङले बताउनुभयो।
बैठकमा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासिको लगत विवरण प्रविष्ट भएकाहरुको हकमा काम अगाडी बढाउनु पर्ने र बाँकी फारमहरु सफ्टवेयरमा प्रविष्ट गर्दै जानुपर्ने सुझाब दिनुभएको थियो। भूमि सम्बन्धि समस्या समाधानका बाँकी कार्यहरुका लागि आफ्नो तर्फ बाट पूर्ण रुपमा सहयोग रहने अधिकृत बेलबासेले बताउनु भयो।
बैठकमा नापी बिभाग भैरहवाका प्रमुख नापी अधिकृत अजित कुँवरले रुपन्देही जिल्ला भूमि सम्बन्धि समस्याका लागि दोस्रो ठुलो अव्यवस्थित जिल्ला रहेको र समाधनका लागि जनशक्ति अपर्याप्त रहेको बताउनुभयो। यधपी अमिन,सुपरिवेक्षक जस्ता आवश्यक जनशक्ति अन्य जिल्ला बाट व्यवस्थापन गरेर भए पनि नापी कार्य अगाडी बढाउने बताउनुभयो।
२०७७ माघ देखि फागुन सम्मको ३५ दिनको अवधिमा १४ हजार ३ सय ५७ जनाको निवेदन फारम संकलन गरिएको भूमि सम्बन्धि समस्या समाधान आयोग लागत संकलन इकाई देवदहका प्रमुख सुरज बश्यालले बताउनुभयो। जस मध्ये भूमिहीन दलित १ सय ५७ जना,भूमिहीन सुकुम्बासी २ सय ६७ जना र अव्यवस्थित बसोवासि १३ हजार ९ सय ३३ जनाको फर्म संकलन भएको छ। आयोगले बनाएको सफ्टवेयरमा २०७८/७९ को मसान्त सम्म १५ सय जनाको फर्म प्रविष्ट भैसकेको र यथासक्य चांडो फारम प्रविष्टिका लागि थप १० जना लगत प्रबिष्टकर्ता नियुक्त गरि काम अगाडी बढाइको छ।
बैठकमा उपस्थित भएका राजनीतिक दलका प्रतिनिधिहरुले यथासिघ्र बिना रोकटोक समस्या समाधनका लागि लाग्न र त्यसका लागि आफ्नो पार्टीले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।
बैठकमा नेकपा एमालेका प्रकाश अर्याल, टिकाराम चापागाई, नेपाली कांग्रेसका वासुदेव रिमाल, गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल, गोविन्द ठड्राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमाल, नेकपा समाजवादीका टंकप्रसाद पोखरेल, नागरिक समाजका कृष्णप्रसाद पौडेल, शुसिला भट्टराई लगायतलको उपस्थिति रहेको थियो।
भिडियो हेर्नुहोस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij