विकास निर्माणका काममा चरम लापरबाही
निर्मल एसपी मगर ,देवदह ।रुपन्देहीको देवदह ४ केरवानी देखि पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ उखुबारी जोड्ने मोटरेवल पुल निर्माणको काम सुरु भएको आधा दशक बित्यो ।तर हालसम्म कामको प्रगति भनेको ५० प्रतिशत मात्र देखिएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने पुलको काम ५ बर्ष पुगिसक्दा पनि पूरा हुन नसकेको हो ।
भिडियो हेर्नुहोस
संघिय सरकारको बजेटमा २०७३ सालमा मैनाचुली कन्स्ट्रक्सन प्रालिले साढे ४ करोड लागतमा निर्माणकार्य सुरु गरेको थियो। पुलको दुई ओटा पिल्लर निर्माण भए पछि निर्माण कार्यको जिम्मा पाएको कन्स्ट्रक्सन कम्पनि सम्पर्क बिहिन हुँदा पुल निर्माण कार्य ४ बर्ष देखि वेवारिशे जस्तै बनेको थियो। रोकिएको निर्माण कार्य २० दिन देखि सुस्त गतिमा अघि बढिरहेको छ। '१५-२० दिन देखि काम सुरु गरेका छौ,कामदार ४ जना मात्रै छौ,निर्माण सामाग्री समयमा आउदैन ,त्यसैले सोचे अनुरुप काम अगाडी बढिरहेको छैन' ,एक कामदारले बताए।
यस क्षेत्रका संघिय सांसद छबिलाल विश्वकर्माका अनुसार केहि महिना अघि आफुले निर्माणाधीन पुलको अवलोकन गरेको र उक्त पुलको अवस्था अपुरो,अधुरो र अव्यवस्थित देखिएको उल्लेख गर्दै सडक डिभिजन कार्यालय मार्फत सम्बन्धित निर्माण कम्पनीलाई यथासिघ्र निर्माण प्रक्रिया अघि बढाउन ताकेता गरिएको बताउनुभयो।

पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनि मैनाचुली कन्स्ट्रक्सन प्रालि काठमाडौंका इन्जिनियर सुरेन्द्र बिष्टले यो आर्थिक बर्ष भित्र पुल निर्माण सम्पन्न हुने दावी गरे। यस अघि कन्स्ट्रक्सनले अर्को निर्माण कम्पनीलाई जिम्मा दिंदा काममा लापरबाही हुन गएको र निर्माण कार्यमा ढिलाई भएको बताउंदै इन्जिनियर बिष्टले निर्माण कम्पनि कालोसूचीमा पर्न बाट जोगाउनकै लागि भए पनि असार मसान्त भित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताए।
पुल निर्माण कार्य अधुरो छोडेर निर्माण कम्पनि सम्पर्क विहिन हुँदा पुल निर्माणका लागि ल्याइएका लाखौ मूल्य बराबरको सिमेन्ट भिजेर नष्ट भएका छन् भने गेभिनका लागि ल्याइएको तारहरु चोरी हुने गरेको स्थानीयले बताएका छन्। ५ बर्ष सम्म बन्न नसकेको पुल ५ महिना भित्र हतार हतारमा बनाउंदा पुल दिगो र टिकाउ होला त? भन्ने कुरामा संका उत्पन्न भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij