कांग्रेस-एमालेलाई माओवादी केन्द्र निर्णायक बन्न सक्ने
यी हुन् देवदहमा मेयरका आकांक्षीहरु
देवदह। बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भए संगै सम्भावित नगर प्रमुख उप प्रमुखको उम्मेदवार को हुने भन्ने चर्चा बढेको छ। पार्टी कार्यालय तथा विभिन्न चिया पसलहरुमा चुनावी चिया गफ भइरहेका छन् । देवदहमा प्रमुख राजनितीक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रभावशाली तथा लामो समय देखि राजनीति गरिरहेका र केहि नंया अनुहारका नाम मेयरको उम्मेदवारका रुपमा चर्चामा आएका छन्।
देवदह नगरपालिकामा ८ वटा राजनीतिक दल अस्तित्वमा रहेका छन्। तिन प्रमुख राजनीतिक दल संगै नेकपा समाजवादी र राप्रपाले पनि व्यापक रुपमा संगठन विस्तार गरेको छ। राष्ट्रिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी,राष्ट्रिय जनमुक्ति पार्टीको संगठन पनि देवदहमा राम्रो रहेको छ।
देवदह नगरपालिका १ सय ३६ दशमलव ९५ वर्ग किलोमिटरमा फैलिएको छ। २०६८ को जनगणना अनुसार ५३ हजार ५२३ जनसंख्या रहेको देवदहको जनसंख्या २०७८ को जनगणनाको तथ्यांक अनुसार करिब १५ हजार बढेर ७० हजार पुगेको छ। यो संगै मतदाताको संख्या पनि बढेको अनुमान गरिएको छ।
यद्यपि जिल्ला निर्वाचन कार्यालयले नंया मतदाताको संख्या सार्वजनिक गरिसकेको छैन। रुपन्देहीमा १६ स्थानीय तह छन्। २०७४ मा साढे ४ लाख मतदाता रहेको रुपन्देहीमा पांच वर्षको अवधिमा मतदाता पनि बढेको अनुमान गरिएको छ।
यी हुन् एमाले बाट चर्चामा आएको नाम
नेकपा एमालेका तर्फबाट मेयरको चर्चामा नगर अध्यक्ष टिकाराम चापागाईं,विद्या लक्ष्मी गुरुङ,प्रकाश अर्याल,डोलराज चापागाईं,गुमान सिंह कुँवर,बिष्णु प्रसाद पौडेल,रेवती घले,कृष्ण राज पौडेल र लक्ष्मी पंगेनी लगायतको नाम रहेको छ।
तर,बलियो उम्मेदवारको रुपमा टिकाराम चापागाईं,विद्या लक्ष्मी गुरुङ र रेवती घलेलाई लिइएको छ। चापागाईं यस अघिको चुनावमा झिनो मत अन्तरले पराजित मेयरका उम्मेदवार हुन्।पार्टीको हालका नगर अध्यक्ष समेत रहेका चापागाईं देवदहलाई समृद्द बनाउने परिकल्पना सहित आफु मेयरमा उठ्न लागेको उनि निकट एक नेता बताउछन्।
त्यस्तै हालका उपप्रमुख समेत रहेका गुरुङलाई पनि नगर प्रमुखको बलियो दावेदारको रुपमा हेरिएको छ। त्यसै गरि अघिल्लो स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुखको मुख्य उम्मेदवार भए पनि अन्तिममा आएर टिकट नपाएका घलेलाई पनि यस पटक प्रमुखको उम्मेदवारको रुपमा हेरिएको छ।
चर्चामा आएका नाम मध्य डोलराज चापागाईं देवदहका पुराना कम्युनिष्ट नेता हुन्। त्यसै गरि पुर्व नगर अध्यक्ष अर्याल पनि मेयर पदका आकांक्षी हुन्।
कांग्रेस बाट को–को?
कांग्रेसको तर्फबाट गुनाखर भुर्तेल,हिरा बहादुर खत्री,बासुदेव रिमाल,झबिन्द्र प्रसाद देवकोटा लगायतको नाम चर्चामा छ।
गुनाखर भुर्तेललाई कांग्रेसको बलियो उम्मेदावरको रुपमा लिइएको छ। देवदह नगर सभापति समेत रहेका भुर्तेल रामचन्द्र पौडेल पक्षका मानिन्छन।
त्यसै गरि हालका नगर प्रमुख हिरा बहादुर खत्री पनि उम्मेदवारको रुपमा दोहोरिने सम्भावना देखिन्छ । खत्री रुपन्देही क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति समेत हुन्। खत्री संगै रिमाल र देवकोटाको नाम पनि आकांक्षीको रुपमा चर्चा गरिएको छ।
यी हुन् माओवादीबाट आकांक्षी
माओवादी केन्द्रबाट मोतीलाल ढकाल,गोबिन्द ठडराई,सुन्दरी गिरि,टिका गौतम लगायतको नाम चर्चामा आएको छ।
ढकाल माओवादी केन्द्र रुपन्देही क्षेत्र नम्बर १ क का इन्चार्ज हुन्। त्यसै गरि महिला नेत्री टिका गौतम र सुन्दरी गिरी पनि नगर प्रमुख पदको आकांक्षीको रुपमा आउने सम्भावना छ।
नेकपा समाजवादी
नेकपा एमाले विभाजित भएर माधब नेपालले नेकपा समाजवादी पार्टी दर्ता गरे संगै नेकपा एसले पनि देशव्यापी संगठन विस्तार गरिरहेको छ।
देवदहमा पनि संगठन विस्तारलाई तिब्रता दिईरहेको समाजवादी बाट निलकण्ठ पौडेल र टंक पोखरेललाई मेयरको आकांक्षीको रुपमा हेरिएको छ।
तत्कालिन नेकपा एमालेमा माधब नेपाल निकट मानिने पौडेल यस अघिको चुनावमा एमाले बाट नगर प्रमुखको मुख्य दावेदार भए पनि अन्तिममा आएर उनको मेयरको टिकट खोसिएको थियो।
यो त रह्यो सम्भावनाको कुरा ,यद्यपि कुनै पनि राजनीतिक दलले मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरि सकेका छैनन्।
माओवादी–कांग्रेस मिल्ने सम्भावना ??
हाल केन्द्र र प्रदेशमा नेपाली कांग्रेस,माओवादी केन्द्र,नेकपा समाजवादी र जसपा लगायतको गठबन्धनको सरकार छ।
देवदहमा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले मेयर र उप मेयरमा चुनावी तालमेल गरेका थिए।
पछिल्लो पटक संघ संस्थाका निर्वाचनमा कांग्रेस,माओवादी र समाजवादीले गठबन्धन गरेर चुनावमा भाग लिएको देख्न सकिन्छ। तसर्थ स्थानीय तहको निर्वाचनमा पनि चुनावी तालमेल हुने सम्भावना प्रबल रुपमा देखिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij