देवदह। स्मृति सामुदायिक वन उपभोक्ता समूह देवदह ७ रुपन्देहीले प्रस्तर कला कार्यशाला गर्ने भएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा प्रस्तर कला कार्यशाला हुन लागेको हो । १० लाख बजेट बाट ८ वटा मूर्ति निर्माण गर्ने गरि कार्यशाला हुन लागेको बताइएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा ८ जना मूर्तिकारले न्युनतम ८ वटा ढुङ्गाका मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको छ । ड्रीम देवदहको समन्वयमा स्मृति सामुदायिक वनले कार्यशाला गर्न लागेको हो । कार्यशालाको लागि निर्मित उपभोक्ता समूहका संयोजक टंक पोखरेलका अनुसार बिगत २ वर्षदेखी योजनामा रहेको प्रस्तर कला कार्यशालाका लागि बिगतमा लुम्बिनी प्रदेशबाट ७० लाख बिनियोजन भएपनि पछि उक्त रकम आंशिक रकमान्तर भई अन्य शिर्षकमा गएको तथा बाँकी रकम समेत कोरोना महामारीका कारण फिर्ता गएको थियो ।

यो कार्यशालाका लागि नगरपालिकाको १० लाखबाट सुरुवात गर्ने र अन्य स्रोतको खोजी गर्ने योजनाका साथ अगाडि बढिरहेको समुहका अध्यक्ष भरत कुमार गुरुङ्गले बताउनुभयो । स्मृति सामुदायिक वनको स्मृती वन बाटिकामा कार्यशाला सञ्चालन हुनेछ । करिब ५ बिगाहा क्षेत्रफलमा अवस्थित बाटिकाको बृहत गुरुयोजना निर्माण भइसकेको छ । कार्यशालामा बुद्धकालीन महत्व झल्किने खालका मूर्तिहरु निर्माण गरिने वनले जनाएको छ । प्रस्तरकलासहित बाटिकाको बिकासले देवदहको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यशाला आगामी चैत्रको पहिलो हप्ताबाट सुरु हुनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij