बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहको सुरजपुरा:जहाँ गिरिजाप्रसादको हत्या प्रयास र देउवालाई ढुंगा प्रहार भएको थियो

देवदहको सुरजपुरा:जहाँ गिरिजाप्रसादको हत्या प्रयास र देउवालाई ढुंगा प्रहार भएको थियो

images
  • 882
    SHARES

  • images
    images
    images
    देवदहको सुरजपुरा:जहाँ गिरिजाप्रसादको हत्या प्रयास र देउवालाई ढुंगा प्रहार भएको थियो
    images
    images
    images

    देवदह। ठीक ३८ वर्षअघि आजकै दिन नेपाली कांग्रेसले एउटा कहालीलाग्दो घटना सामना गर्नुपरेको थियो। अर्थात् २०४०  फागुन २० गते रुपन्देहीको सुरजपुरामा गिरिजाप्रसाद कोइरालालाई लक्ष्य गरी आक्रमण गरिएको थियो। घटनामा दुई जनाको मृत्यु भएको थियो। दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए। 

    कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश दौडाहामा थिए। रुपन्देहीमा पनि गिरिजाबाबु आउने भन्दै कांग्रेस जिल्ला समितिले तयारी थाल्यो। यसका लागि कांग्रेसका तत्कालीन जिल्ला सभापति पुष्पानन्द गिरिले कार्यसमितिको बैठक बोलाए। बैठकमा सदस्यहरूले यस्तो अवस्थामा कार्यक्रम नगर्न सल्लाह दिए। तर जिल्ला सभापति गिरिले कार्यक्रम गर्नुपर्ने अडान लिए। 

    images
    images
    images

    ‘प्रजातन्त्रको महायज्ञमा अगाडि बढेका मान्छे डराएर हुँदैन। महामन्त्रीको कार्यक्रम रुपन्देहीको ४ ठाउँमा हुनुपर्छ भनेर बुबा (पुष्पानन्द) ले भन्नुभयो’, पुष्पानन्दका साहिँला छोरा शक्तिप्रसन्नले सम्झे, ‘पहिलो कार्यक्रम मेरै घरबाट सुरु गरौं भनेपछि कार्यक्रम तय भयो।’ 

    कार्यक्रमको अघिल्लो दिन फागुन १९ गते गिरिजाप्रसाद कोइराला केही नेता–कार्यकर्ताका साथ काठमाडौं प्रस्थान गरे। उनीहरू चढेको पुरानो जिप नारायणगढ नपुग्दै बिग्रियो। त्यसपछि ट्रक चढेर गिरिजाप्रसादसहितका नेता नारायणगढ पुगे। भोलिपल्ट मिनिबस रिजर्भ गरेर सुरजपुरा जान पश्चिमतर्फ लागे। नवलपरासीको दाउन्नेनिर एक हुल मानिस गिरिजाप्रसादको गाडी पर्खेर बसेका थिए। उनीहरूका साथमा कांग्रेसको झण्डा र माला थिए। तर गिरिजाप्रसादले समय छैन भन्दै गाडी रोक्न माननेन्। गाडी नरोकेका कारण ज्यान जोगिएको आफ्नो जीवनी समेटिएको एक किताबमा कोइरालाले बताएका छन्। 


    ‘मोटर नरोकेका कारण हाम्रो ज्यान जोगियो। त्यहाँ पार्टीको झण्डा र माला लिएर बसेका मानिसहरू त हामीलाई मार्नका लागि योजनाबद्ध रूपमा राखिएका पो रहेछन्’, जगत नेपालले लेखेको आफ्नै कुरा गिरिजाप्रसाद कोइराला नामक किताबमा कोइरालाको भनाइ उल्लेख छ। 

    पुष्पानन्दका काइँला छोरा युवराज गिरि पनि आफ्ना बाबुसँग गिरिजाप्रसादलाई लिन राजमार्गमा पर्ने खैरेनीसम्म गएका थिए। 

    ‘बाटोमा केही मान्छे जंगल साइडमा बसिरहेका थिए। केही गञ्जागोल कुराहरू पनि सुनियो’, उनले सुनाए, ‘आक्रमण गर्दै छन् भन्ने एक खालको आकलन हामीले गर्यौं। गिरिजाबाबु आएपछि लिएर सुरजपुरा गयौं।’ 

    गाडीबाट झरेपछि ४५ मिनेटजति हिँडाएर गिरिजाप्रसादलाई सुरजपुरा लगिएको थियो। 

    जिल्ला सभापति पुष्पानन्द गिरिको घरको आँगनमा गिरिजाप्रसाद, सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलेजा आचार्यसहितका नेता तथा जिल्लाका कार्यकर्ता भेला भए। 

    कांग्रेसका तत्कालीन जिल्ला सचिव रामकृष्ण ताम्राकारले कार्यक्रम अघि बढाए। गिरिजाप्रसादले सम्बोधन थाले। 
    उनले भने, ‘साथीहरू ! हामी अपहरण भएको हाम्रो प्रजातन्त्र पुनःस्थापनाका लागि अघि बढ्दै छौं। कसैसँग डराउन हुँदैन। हामी डरायौं भने केही गर्न सक्दैनौं। पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छन्, अनेक हतकण्डा अपनाउन सक्छन्, समात्न सक्छन्, कारबाही पनि गर्न सक्छन्। तर हामी पछि हट्न हुँदैन।’ 

    गिरिजाप्रसादले सम्बोधन गर्दैगर्दा वरिपरिबाट आक्रमणकारीहरूले घेरे। 
    ‘एउटा समुह दक्षिणबाट, एउटा पूर्वबाट र अर्को उत्तरबाट गरी तीनतिरबाट घेराउ गरेका थिए’, युवराज गिरिले भने। 

    उनीहरू पुष्पानन्दको घरतर्फ आउँदै गर्दा गिरिजाप्रसाद कोइरालाले भाषण छोट्याए। पुष्पानन्दलगायतले कोइरालालाई घरको माथिल्लो तलामा लिएर गए। उनीहरू आएर घरमा तोडफोड गर्न थाले। 

    ‘हातमा नांगा खुकुरी लिएका, सबैले झोला बोकेका थिए। लाठी बोकेका थिए। केहीका हातमा रक्सीका जर्किन थिए’, पुष्पानन्दका छोरा शक्तिप्रसन्नले सम्झे, ‘झोलाबाट ढुंगा निकालेर सबैले ढुंगा प्रहार गर्न थाले।’ 

    गिरिजाप्रसादलाई राखिएको माथिल्लो तलामा प्रवेश गर्ने घोप्टे ढोका लगाई त्यसमामथि भोटे ताल्चा लगाइएको थियो। घरको ढोका बन्द गरेर गजुर लगाइएको थियो। झ्याल फोरेर उनीहरू भित्र पसे। तर माथिल्लो तलामा जान सकेनन्।

    भुइँतलामा भएका शेरबहादुर देउवा (वर्तमान प्रधानमन्त्री) को ओठमा ढुंगाले लाग्यो। देउवाको ओठमा अझै पनि त्यो खत देख्न सकिन्छ। ढुंगाले लागेपछि देउवालाई पनि माथिल्लो तलामा लगियो। लगातार डेढ/दुई घण्टासम्म उनीहरूले प्रहार गरेको युवराज गिरिले सुनाए। 

    ढुंगाले छानोका खपडा पनि फुटेका थिए। घरमा जताततै बञ्चराले हानेका थिए। अझै पनि घरका खाँवा तथा ढोकामा प्रहार गरेको चिह्न देख्न सकिन्छ। 

    गिरिजाप्रसाद बसेको माथिल्लो तलामा जान नसकेपछि उनीहरूले घरभित्रको धेरै सामान लिएर गएको शक्तिप्रसन्न गिरिले बताए। 

    ‘शरीरमा लगाएको कपडाबाहेक अरू बाँकी राखेनन्’, उनले भने, ‘घरका लत्ताकपडा जम्मा पारेर भर्याङमुनि आगो लगाएर हिँडे। एक छिनपछि महिला दिदीबहिनी आएर आगो निभाउनुभयो।’ 

    लगातार आक्रमण भएपछि गिरिजाप्रसादले पुष्पानन्द गिरिसँग बन्दुक मागे। तर पुष्पानन्दको घरमा भएको बन्दुक गिरिजाले पड्काउन खोज्दा पड्केन। तर पनि गिरिजाप्रसादले चर्को स्वरले ‘ए गिरिजी ! बन्दुक छ, निकाल्नूस् त, अब त गोली नै ठोक्नुपर्छ’ भनेपछि आक्रमणकारीहरू भागेको आफ्नै कुरा पुस्तकमा गिरिजाप्रसादले उल्लेख गरेका छन्।

    बाहिर भएकाहरू कोही भागे, कतिपय आक्रमणकारीहरूको निसानामा परे। उनीहरूलाई जेले भेटायो, त्यसैले हिर्काइएको थियो। यादवनाथ आलोक गम्भीर घाइते अवस्थामा गहुँबारीमा भेटिएका थिए। घटनामा गम्भीर र सामान्य चोटपटक लागेकासहित २ सय भन्दा बढी घाइते भएका थिए। गम्भीर घाइते १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर मंगलापुरसम्म लगियो। अरू घाइते हिँडेरै गए। गम्भीर घाइते भएकामध्ये परमानन्द भट्राई पनि एक हुन्, जो हाल कांग्रेसको रुपन्देही जिल्ला समितिको सचिव छन्। घटनामा आफूलाई टाउकामा चोट लागेर बेहोस भएको परमानन्दले सुनाए। 

    ‘आक्रमणको क्रममा मलाई दुई/चार ठाउँमा लाग्यो। आगनमा पल्टेँ, त्यहाँबाट उठेर अलि पर जाँदा टाउकोबाट धेरै रगत बगेको महसुस भयो’, उनले भने, ‘म खेतमै बस्दा बेहोस भएछु। लडियामा राख्दा थाह पाएँ। मंगलापुरसम्म लडियामा आइयो।’ 

    No photo description available.

    मंगलापुरमा गोपालमान श्रेष्ठको ट्रक बोलाइयो। ट्रकमा पराल बिच्छ्याएर त्यसमाथि घाइतेहरू राखेर लुम्बिनी अञ्चल अस्पताल ल्याइपुर्याइएको थियो।  तर उपचारका क्रममा फागुन २२ गते यादवनाथ आलोकको तथा  घटनाको दसौं दिनमा शिक्षक रामप्रसाद चौधरीको निधन भयो। 

    बुटवलमा उपचार हुन नसकेपछि आफूहरूलाई बसबाट काठमाडौं लगिएको हाल जिल्ला सचिव परामानन्दले सुनाए।

    ‘दुई दिन बुटवलको अस्पतालमा बसेपछि तेस्रो दिन रात्रिबसमा हामीलाई काठमाडौं लगियो। फम किनेर बसका दुईवटा सिटमा बिच्छ्याएर त्यसमा सुताएर लगिएको थियो’, उनले सम्झे, ‘हामी तीन जनालाई वीर अस्पतालमा भर्ना गरियो। १० दिनजति उपचार गरेपछि हामी फर्किएका थियौं।’

    May be an image of one or more people, people standing, people walking and outdoors

     

    गिरिजाप्रसाद कोइरालालाई मार्ने उद्देश्यले नै सुरजपुरा काण्ड गराइएको कांग्रेसका नेता–कार्यकर्ता बताउँछन्। राजा वीरेन्द्रलाई चुनौती दिँदै हिँडेकाले गिरिजाप्रसाद कोइरालालाई आक्रमण प्रयास गरिएको बताउने गरिन्छ। 

    राजा वीरेन्द्रलाई भेटर गिरिजाप्रसादले पञ्चायतका विकल्पबारे कुरा गरेका थिए। वीरेन्द्रले ‘ठीकै छ देश घुम्नुहोस्, जनताको के चाहना छ बुझ्नूस्। म पनि बुझ्छु’, भने। 

    त्यसअनुसार कोइराला देश दौडाहमा निस्केका थिए। रुपन्देहीमा तीन–चारवटा कार्यक्रम हुने तय भएकामा पहिलो कार्यक्रम सुरजपुरामा भएको युवराज गिरिले बताए।

    सुरजपुरा घटनापछि गिरिजाप्रसाद कोइरालाले राजा वीरेन्द्रलाई पनि भेटेका थिए। एकातिर आफूलाई देश घुम्नूस् भन्ने अर्कातिर मार्न लगाउने भन्दै राजालाई प्रश्न गरे। राजा वीरेन्द्रले के रहेछ बुझ्छु भन्दै जवाफ दिए। घटनामा अत्याचार भएको भन्दै मानव अधिकारवादीहरूले पनि चर्को आलोचना गरेका थिए। त्यही घटनाका कारण लुम्बिनीका अञ्चलाधीशलाई पनि हटाइएको थियो।

    हालको देवदह नगरपालिका वडा नम्बर ३ मा सुरजपुरामा गिरिजाप्रसादलगायतका नेताहरूलाई आक्रमण गरिएको घर अहिले पनि छ। यसअघि छानो खपडाको थियो, अहिले टिनको छ। घरमा अरू केही समान्य परिवर्तन मात्र भएको छ। यो घरमा पुष्पानन्दका साहिँला छोरा शक्तिप्रसन्न बस्छन्। 

    घटनापछि गिरिजाप्रसाद कोइराला चारपटक सुरजपुरा आएका छन्। अरू केन्द्रीय नेता पनि रुपन्देही आएका बेला सुरजपुरा पुग्छन्। घटनामा मृत्यु भएका यादवनाथ आलोक र रामप्रसाद चौधरीलाई कांग्रेसले सहिद मानेको छ। आलोकको मृत्यु भएको दिन फागुन २२ गते सुरजपुरामै नेपाली कांग्रेस रुपन्देहीले कार्यक्रम गर्दै छ।

    नेपाल खबर बाट साभार गरिएको 

    तस्बिर:शंकर गिरीको वाल बाट साभार 

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण २० २०७८०८:१९:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij