फागुन २४ । आज मार्च ८ अर्थात ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । श्रममा महिलालाई भएको भेदभावको विरुद्ध सन्१९०८ भन्दा अगाडिदेखि बिभिन्न समयमा बिभिन्न महिला अधिकारर्कीहरुको नेतृत्वमा भएको आन्दोलनको परिणमस्वरुप सन् १९११ देखि यो दिवस मनाउन थालिएको हो । विश्वभर हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइन्छ । नेपालमा पनि यस दिवसको अवसरमा महिलाका क्षेत्रमा काम गर्ने संघ संस्था तथा विभिन्न क्षेत्रहरुमा विशेष कार्यक्रम गरेर मनाउने गरिन्छ । यसै सन्दर्भमा देवदह नगरपालिकामा पनि उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण न्यौपानेले संविधानमा महिला हक अधिकारको क्षेत्रमा धेरै व्यवस्था सुनिश्चित भएको भएपनि पूर्णत व्यवहारमा लागू हुन नसकोको प्रति दुखेसो व्यक्त गर्नुभयो । उहाँले समाजमा व्याप्त कुरीती अन्त्य गर्दै महिलालाई समान पहुँचमा पु¥याउनका लागि सम्पत्तीमा समान हक व्यवहारीक रुपमा स्थापित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद न्यौपानेले अझैपनि श्रमिक महिलाको रुपमा जागीर गर्ने महिलालाई मात्र लिइने गरेको र घरमा २४ सै घण्टा घरयासी काम गर्ने महिलाहरुको श्रमको मूल्याङ्कन नहुन दुखद कुरा भएको बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले महिला अधिकारको क्षेत्रमा संविधानले प्रद्दत गरेका अधिकारहरुले धेरै सहज बनाएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरु सावित्री बस्याल, महिला स्वास्थ्य स्वयंसेवीका निर्मला चौधरी, साना किसान कृषि सहकारी देवदहकी अध्यक्ष टिका गौतम, अखिल नेपाल महिला संघ समाजवादीकी सुशीला भट्टराई, अखिल नेपाल महिला संघ क्रान्तीकारीकी लक्ष्मी सिग्देल, अखिल नेपाल महिला संघकी गिता भण्डारी, अन्तरपार्टी महिला सञ्जालकी लक्ष्मी पंगेनी लगायतले महिला अधिकारका क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको औंल्याउनुभयो । महिलालाई अधिकार सम्पन्न बनाउनका लागि सम्पत्तीमा समान हकको आवश्यकता रहेको उल्लेख गर्दै समाजमा व्याप्त महिला हिंसा निर्मूल पार्दै महिला अधिकारको सुनिश्चितताका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षक, संचारकर्मी तथा महिला अधिकारकर्मी इन्दीरा अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा विवरणात्मक तथा जानकारीमूलक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा देवदह प्रहरी चौकीमा कार्यरत ४ जना महिला प्रहरीहरुलाई सुरक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा देवदह नगरपालिकाका १० वटा सामूदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५२ जना किशोरीहरुलाई साइकल बितरण गरिएको उपप्रमुखसँग महिला कार्यक्रमका संयोजक तथा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिनुभयो । उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गतको करिब ५ लाख बजेटबाट ५२ वटा साइकल बितरण गरिएको हो । उपप्रमुख गुरुङ्गका अनुसार विद्यालयबाट १ किलोमिटरको दुरीमा घर भएका,जेहेन्दार एवं बिपन्न परिवारका, दलित तथा पिछडिएको समुदायका, बाबु आमा मध्ये एक जना नभएका, विद्यालयमा ८० प्रतिशत हाजिरी भएका लगायतका मापदण्ड बनाएर विद्यालय व्यवस्थापन समितीले गरेको सिफारीसको आधारमा साइकल बितरण गरिएको हो ।

कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, महिला अधिकारकर्मीहरु, आमा समूहका प्रतिनिधिहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । बिगतका वर्षहरुमा ¥यालीसहितका बिशाल कार्यक्रम गरेर यस दिवस मनाइने गरेको भएपनि यस वर्ष कोरोना महामारीलाई मध्यनजर गर्दै प्रतिनिधिमूलक उपस्थितीमा कार्यक्रम गरिएको जानकारी गराइएको छ । कार्यक्रम उपप्रमुखसँग महिला कार्यक्रमका संयोजक तथा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, सदस्य देवु भट्टराईको स्वागत र सदस्य सरस्वती पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij