मेला यहि चैत २७ गते लाग्दैछ।
निर्मल एसपी मगर
देवदह। देवदहको भवानीपुरमा यस वर्ष रामनवमी मेला लाग्ने भएको छ। कोरोना संक्रमणका पछिल्लो दुई बर्ष मेला स्थगित भएको थियो। यस बर्ष मेलाको तयारीको लागि प्रचार प्रसार,मन्दिर वरपरका क्षेत्रमा सरसफाई र पर्यटकलाई आकर्षित गर्नका सेल्फी जोन राख्ने कार्य भैरहेको कोलिय राज्य क्षेत्र विकास समितिका अध्यक्ष लिला बल्लभ भट्टराईले बताउनु भयो।
मेलालाई व्यवस्थित र मर्यादित बनाउन तथा भवानीपुर संगै बुद्द संग जोडिएका र देवदहका अन्य ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण र प्रबर्द्दनका लागि नगरपालिका लागिरहेको नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनुभयो।
प्रत्येक वर्ष राम नवमीको अवसर पारेर लाग्ने मेलाको एतिहासिक महत्व रहेको र यसको प्रचार र संरक्षण सबै नगरवासी मिलेर लाग्नुपर्ने नगर प्रमुख खत्रीले बताउनुभयो।

तस्बिर:लक्ष्मण न्यौपाने
भावानीपुरमा लाग्ने चैते दशैँ मेलाको इतिहास,महत्व र बिशेषता
देवदहको भवानीपुरमा लाग्ने चैते दशै/रामनवमी मेलाको बिशेष महत्व रहेको छ। मेला कहिले देखि लाग्न सुरु भएको ठ्याक्कै उल्लेख नभए पनि
केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर मुनाङ्कमीका हजुर बुवा हिक्मत बहादुर मुनाङ्कमीले हाल मेल लाग्ने क्षेत्रमा संसारीमाईको पूजापाठ गर्दै आएको र पछि मायादेवी मन्दिर क्षेत्रको उत्खनन भए पछि सोहि क्षेत्रमा राम नवमी मेला लाग्दै आएको स्थानीय बताउछन् ।
हिक्मत बहादुरका नाति केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर ७८ बर्षका भए र हाल उनी काठमाण्डौमा बसोबास गर्छन।महेन्द्र बहादुरलाई नजिक बाट चिन्ने स्थानियाहरु महेन्द्र बहादुरले बर्षौ देखि मेला लाग्ने बताउने गरेको स्थानीय बताउछन। यसरि हेर्दा पनि मेला ऐतिहासिक रहेको अनुमान गर्न सकिन्छ।
भवानीपुरमा २०६८ सालमा उत्खनन गर्दा मायादेवीको दरबार संग सम्बन्धित अवशेष भेटिएको र उक्त उत्खनन गरिएको क्षेत्रलाई संरक्षण
गरेर राखिएको छ।
मेला कहिले देखि सुरु भयो मेला सम्बन्धि वास्तविक इतिहास खोज्न अध्ययन,अनुसन्धान हुनु जरुरि छ।
विस २०१३ सालमा महेन्द्र बहादुरका बुवा किस्मत बहादुर मुनाङ्कमीले बनाएको मन्दिर


मेलाको विशेषता
मेलामा विशेष गरि मिठाईका परिकारहरुको मूख्य आकर्षण रहने गर्छ। स्थानीय तथा छिमेकी जिल्ला नवलपरासी र पाल्पा बाट समेत मेला भर्न सयौं भक्तजन मन्दिर परिसरमा आउने गर्छन। मेलालाई बिशेष बनाउन सांस्कृतिक कार्यक्रमहरु समेत हुने गर्छ। यस अघि ड्रिम देवदहले मेलाको अवसर पारेर गौतम बुद्द,मायादेवी र देवदहका ऐतिहासिक स्थलहरुलई समेटेर फोटो प्रदर्शनी गरेको थियो।
यस बर्ष के-के हुँदैछ ?
यस वर्ष मेलाको अवसर पारेर महामाया युवा क्लबले फोटो प्रदर्शनी गर्ने भएको छ। पर्यटन प्रर्वद्धनको आधार,जोगाऔं हाम्रो पूर्वाधार भन्ने मूल नारा का साथ क्लबले पाकड़ी बृक्ष,मायादेवी मन्दिरर बुद्द संग सम्बन्धित फोटो प्रदर्शनी गर्न लागेको क्लबका संयोजक आशिष पोखरेलले बताउनुभयो। मेलामा महामाया युवा क्लबले टिकटक र सेल्फी जोन समेत स्थापना गर्दैछ।

त्यसैगरी उज्यालो लालटिन प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर,प्राथमिक उपचार,निशुल्क एम्बुलेन्स सेवाका साथै मेला भर्न आउने भक्तजनलाई निशुल्क पानीको व्यवस्था समेत गरेको प्रतिष्ठानले जनाएको छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij