काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुबईमा नेपालीहरुले भिल्ला किनेर राखेको दाबी गरेका छन् ।
अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले दुबईमा नेपालीहरुले भिल्ला किनेको र त्यो पैसा पनि नेपालबाटै गएको दाबी गरे ।
‘अहिले नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन् रे, मैले सुनेको। त्यो नेपालबाटै गएको पैसाले किनेको त होला नि,’ सञ्चारकर्मीहरुको प्रश्नपछि उनले भने।
त्यस्तै उनले हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा भएका कारण देश श्रीलंका नहुने दाबीसमेत गरेका छन् ।
‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ । यो राष्ट्रघात हो । देशलाई त राम्रो बनाउनुपर्यो नि । श्रीलंका बनाउनतिर किन चाँसो उहाँहरूको भइराखेको छ बडो अचम्म लाग्छ ,’ मन्त्री शर्माले भने ।
सरकारले बृद्धभत्ता कटौती गर्न लागेको, अन्य काम पनि कटौती गर्न लागेको भन्दै भ्रम फैलाउने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आवश्यकता अनुसार बजेटको व्यवस्था गरिरहेका छौं । बृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाउने काम भइरहेको छ । यी सबै अफवाहहरू हुन् ,’ उनले भने ।
ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको उनको भनाइ छ । ‘हामी पनि सतर्कता अपनाइरहेका छौं । यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन्,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौं । अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब पैसा छ ।’
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij