बैशाख ३ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । शनिबार देवदह ६ मिलनचोकमा प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अब्दुल रज्जाकले बैशाख ३० गते हुँदै गरेको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जीताउन आग्रह गर्नुभयो । उहाँले दुई तिहाइको कम्युनिष्ट सरकारले जनभावना अनुसारको काम गर्न नसकेको आरोप लगाउँदै आगामी प्रदेश र संघको निर्वाचनमा समेत नेपाली कांग्रेसलाई बिजयी बनाउने गरि लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता रज्जाकले कांग्रेसले जिते मात्र संविधानको पूर्ण कार्यान्वयन गर्न सम्भव हुने दाबी गर्दै सोहि भावना अनुसार निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले गणतन्त्र स्थापन भएपछि भएको पहिलो निर्वाचनमा भाग लिएर देवदहको नेतृत्व लिदै गर्दा सोँचेजस्तो बिकास गर्न नसकिएपनि निति निर्माणको महत्वपूर्ण काममा उल्लेख्य उपलब्धी प्राप्त भएको दाबी गनुभयो । देवदह नगरपालिकाका प्रमुख समेत रहेका खत्रीले देवदहको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत धेरै क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासील गरेको बताउँदै अगाडि बढाइएका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि फेरी पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका महासमिति सदस्य मणि प्रसाद डुम्रे, जिल्ला सह–सचिव बासुदेव रिमाल, महाधिवेशन प्रतिनिधि मिना पौडेल, प्रदेश क का सभापति नविन आचार्य, देवदह नगर कार्यसमिति सभापति गुनाखर भुर्तेल, देवदह नगरपालिका वडा नं. ६ का अध्यक्ष दामोदर क्षेत्री, देवदह महिला संघका संयोजक कमला अर्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सभापति रुकाग्मत भारतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij