काठमाडौं । नेपालमा अब दुई दिन सार्वजनिक विदा हुने भएको छ ।शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्। मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ पेट्रोलियम पदार्थको महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij