बैशाख १६ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवदहले एटिएम् सेवा सुरु गरेको छ । शुक्रबार संस्थाको आ. व. २०७८÷०७९ को तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा चौथो मासिक लक्ष्य कार्यक्रम एवम एटिएम शुभारम्भ कार्यक्रमको अवसर परेर एटिएम सेवा सुरु गरिएको हो ।
संस्थाको मुख्य कार्यालयमा स्थापना गरिएको एटिएम्को राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले उद्घाटन गर्नुभएको हो । उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तुलाचनले प्रविधिको व्यापक प्रयोग भएको पछिल्लो समयमा सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउनुपर्ने महासंघको नारा भएको बताउनुभयो । उहाँले देवदह क्षेत्रको ठूलो सहकारीको रुपमा रहेको सहकारीले एटिएम् सेवा सुरु गरेसँगै संस्थाको कार्यसम्पादन थप पारदर्शी, सुविधायुक्त र व्यवस्थीत हुने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार ईश्वरी ढुङ्गाना, पुर्व अध्यक्ष तथा सल्लाहकार भिम प्रसाद गुरुङ्ग, संस्थापक अध्यक्ष तथा सल्लाहकार तुलसी न्यौपाने लगायतले सहकारीले सुरु गरेको एटिएम् सेवाले थप प्रभावकारी रुपमा अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै संस्थागत बिकासका लागि नियमित रुपमा गरिने त्रैमासीक समिक्षाको पाटो महत्वपूर्ण रहेको औँल्याउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीले ४ वर्षे रणनैतिक योजना अनुसार २० हजार शेयर सदस्य बनाउने लगायतका महत्वकांक्षी लक्ष्य राखेकोमा कोभिड महामारीले समग्र लक्ष्य प्राप्तीमा अवरोध सृजना गरेको दुखेसो गर्नुभयो ।
उहाँले हाल संस्थाले मुख्य कार्यालयसहित ८ वटा शाखाबाट सेवा प्रदान गरिरहेको बताउँदै संस्थाका शेयर सदस्यहरुलाई कारोबार गर्न एटिएम् सेवा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णराज पौडेलले गर्नुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij