१८ महिना भित्र बनिसक्नु पर्ने पुल ७२ महिना पुगिसक्दा पनि बनेन
देवदह। रुपन्देहीको देवदह ४ केरवानी देखि पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ उखुबारी,गौरीघाट जोड्ने कजरार खोलामा बनाउन लागिएको मोटरेवल पुल निर्माणको काम सुरु भएको ६ बर्ष पुगिसक्दा पनि सम्पन्न हुन सकेको छैन। २०७३ सालमा नेपाल सरकारको ६ करोड ६३ लाख लागतमा निर्माण सुरु गरिएको पुल ६ बर्ष पुगिसक्दा पनि पूरा हुन नसकेको हो ।नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य अब्दुल रज्जाकको पालामा निर्माण सुरु भएको पुल नेकपा एमालेका संघिय सांसद छबिलाल विश्वकर्माको कार्यकाल सकिनकेहि महिना बाँकी रहदा सम्म पनि सम्पन्न हुन नसकेको हो।
रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छबिलाल विश्वकर्मा संग हामीले करिब ५ महिना अघि पुलको बारेमा जिज्ञासा राख्दा निर्माणाधीन पुलको अवलोकन गरेको र उक्त पुलको अवस्था अपुरो,अधुरो र अव्यवस्थित देखिएको उल्लेख गर्दै सडक डिभिजन कार्यालय मार्फत सम्बन्धित निर्माण कम्पनीलाई यथासिघ्र निर्माण प्रक्रिया अघि बढाउन ताकेता गरिएको बताउनु भएको थियो। यहि असार मसान्त भित्र पुल निर्माण सम्पन्न नभए निर्माण कम्पनि कालो सुचिमा पर्ने भएकोले यहि आर्थिक वर्ष भित्र पुलको बाँकी कार्य सम्पन हुने बताइएको थियो।
पुलको बिषयमा अघिल्लो वर्षा तयार गरिएको भिडियो सामाग्री
सडक डिभिजन कार्यालयको रेखदेखमा पुल निर्माण सुरु गरिए पनि पुलको दुईतर्फका पिल्लर मात्र बनेको छ भने निर्माण सामग्री यत्रतत्र फालिएको अवस्थामा रहेका छन्। पुल निर्माण कार्य अधुरो छोडेर निर्माण कम्पनि सम्पर्क विहिन हुँदा पुल निर्माणका लागि ल्याइएका लाखौ मूल्य बराबरको सिमेन्ट भिजेर नष्ट भएका छन् भने गेभिनका लागि ल्याइएको तारहरु चोरी भएको स्थनीय सुरेश सुनारले बताए।
३५ मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल निर्माण सुरु गरेको १८ महिनामा निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौंदेखि काम अलपत्र परेको छ । अघिल्लो बर्ष पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनि मैनाचुली कन्स्ट्रक्सन प्रालि काठमाडौंका इन्जिनियर सुरेन्द्र बिष्ट संग पुल कहिले बन्छ भनेर प्रश्न गर्दा यो आर्थिक बर्ष भित्र पुल निर्माण सम्पन्न हुने दावी गरेका थिए । यस अघि कन्स्ट्रक्सनले अर्को निर्माण कम्पनीलाई जिम्मा दिंदा काममा लापरबाही हुन गएको र निर्माण कार्यमा ढिलाई भएको बताउंदै इन्जिनियर बिष्टले निर्माण कम्पनि कालोसूचीमा पर्न बाट जोगाउनकै लागि भए पनि असार मसान्त भित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताएका थिए।
अब सम्बन्धित निकायले उक्त निर्माण कम्पनीलाई कारबाही गर्ला ?दोस्रो पटक थपिएको म्याद समेत सकिएको अवस्थामा अब पुल निर्माणको बाँकी काम सुचारु होला कि नहोला यी बिषयमा हामीले सम्बन्धित निकाय संग प्रत्यक्ष रुपमा सत्य तथ्य बुझी भिडियो सामाग्री तयार गर्नेछौ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij