बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

इन्स्योरेन्सको पैसा हत्याउन नक्कली विवाह देखि हत्या सम्मको अपराध

इन्स्योरेन्सको पैसा हत्याउन नक्कली विवाह देखि हत्या सम्मको अपराध

images
  • 213
    SHARES

  • images
    images
    images
    इन्स्योरेन्सको पैसा हत्याउन नक्कली विवाह देखि हत्या सम्मको अपराध
    images
    images
    images

    बाँके कोहलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै पतिको सवारी दुर्घटना गराई हत्या गराएको खुलेको छ । 

     वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । बिमा रकम लिने उद्धेश्यले उक्त दुर्घटना नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुलेको हो । 
    प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा मृतककी पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँकेले कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर १५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर ११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर १ की २१ वर्षीय आरती भन्ने ललिता सापकोटालाई विभिन्न मितिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    गत बैशाख २ गते भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकलाई बैजनाथपुर ६ लालपुरमा भित्री सडकमा विपरीत दिशाबाट आइरहेको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । 

    दुर्घटनापछि मिनीबस चालक टोपबहादुर राना क्षेत्री सवारी दुर्घटना गराएको कसूरमा ३० दिन कैद र २ हजार रुपैयाँ जरिबाना तिरेर निस्किएका थिए । तर, उनी बाहिर आएपछि मृतक विकको जीवन बीमा वापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्सबाट लिएर उनकी पत्नीसहित पक्राउ परेका व्यक्तिहरूले बाँडफाड गरी लिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 
    त्यसक्रममा एक महिना अघि मात्र विवाह गरेकी आफ्नै पत्नी सपनासहितका व्यक्तिहरूले जीवन बीमावापतको रकम लिनकै लागि उनको नियोजित ढंगले हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।

    घटनाक्रम

    सर्जन विकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवनबापत २ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी लिएपछि घटना शंकास्पद देखिएको हो । मृतककी श्रीमती सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट भुक्तानी लिई कोहलपुरस्थित कामना विकास बैंकको खातामा उक्त रकम जम्मा गरिसकेकी थिइन् । तर नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले २०७८ साल फागुन ३० गते सीआईबीलाई सर्जन विकको सवारी दुर्घटनाबाट भएको भनिएको मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेख्यो । रिलायन्सले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न पत्र लेख्यो ।

    दुर्घटनामा सर्जनको मृत्यु भए पनि सपना मृत्यु संस्कारमा सहभागी भइनन् । त्यसपछि घटना झनै शंकास्पद देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए । त्यसो त बैंक खाता खोल्दादेखि नै घटना शंकास्पद देखिएको अनुसन्धानले खुलेको छ । मृतक सर्जन र सपना श्रीमान्-श्रीमती भनिए पनि लामो समयदेखि सम्पर्कमा नरहेको अनुसन्धानबाट खुलेको सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । 
    २०७७ साल फागुन २८ गते उनीहरू विवाह दर्ताका लागि गए पनि सर्जनको उमेर नपुगेका कारण त्यसै फर्किएका थिए । त्यही दिन नै सर्जन र सपनाको पहिलो पटक भेट भएको पनि अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको केही दिनपछि चैत २ गते बिबाह दर्ता भएको देखिएको छ । तर विवाह दर्तापछि भने भेट भएको थिएन ।

    सपना मल्लको खातामा आएको २ करोड ५० लाख पनि भागबन्डा गरिएको थियो । उक्त रकममध्ये सञ्जीवले ८० लाख ३६ हजार, दीपकले ६० लाख, सपनाकी आमा छविकुमारी खत्रीले १७ लाख ४६ हजार र सपनाले ८६ लाख ८९ हजार लिएको अनुसन्धानमा खुलेको छ ।
    सञ्जीवले नै रिलायन्स कम्पनी कोहलपुरमा २०७७ फागुन २८ गते सपनालाई इच्छाइएको व्यक्ति राखेर सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए । सामान्य मजदुरी गर्ने सर्जनको पेसा र वार्षिक आयको रकमले बिमाको वार्षिक शुल्क ५ लाख ४० हजार तिर्न नसक्ने देखिएको र केवाईसीमा पनि वार्षिक आम्दानी २ लाख स्वघोषणा गरेको प्रहरीको भनाइ छ । बिमाको पहिलो शुल्क पनि सञ्जीवलै नै तिरिदिएका थिए । वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बिमा गर्न सक्ने भए पनि सर्जनको नाममा गरिएको बिमा भने त्यसअनुरूप थिएन । श्रीमती भनिएका सपना र सर्जनबीच विवाह दर्तापछि भेट नभए पनि सञ्जीव र सपनाबीच भने पटक-पटक भेट भएको पाइन्छ । यस घटनामा बिमा अभिकर्ता खाँको समेत संलग्नता देखिएको छ । दुर्घटनामा खाँकै मोटरसाइकल प्रयोग भएको थियो । घटनाको दिन सञ्जीव, मृतक सर्जन, खाँ र मिनीबस चालक टोपबहादुर रानाको कुराकानीसमेत भएको अनुसन्धानमा खुलेको छ ।

    आरती भनिने ललिता सापकोटाले सपना र सञ्जीवबीच भेट गराइदिएको र घटनापछि सपना मल्ललाई अस्ट्रेलिया पठाउने सहमतिसमेत भएको देखिन्छ । सर्जनको दुर्घटनामा मृत्यु भएको कुरासमेत सञ्जीवले नै सपनालाई बताएका थिए । घटनापछि उनी विदेश जाने योजनामै थिइन् । गत साउन ९ गते दिल्ली हुँदै बाहिर जाने क्रममा उनलाई विमानस्थलबाट सीआईबी टोलीले पक्राउ गरेको हो । 

    सपनाविरुद्ध मृतकसँग विवाह गरी बिमाबाट २ करोड ५० लाख लिएको कसुरविरुद्ध मुद्दा चलाइने भएको छ । त्यस्तै स्याङ्जाका सञ्जीवविरुद्ध प्रतिवादी सपना मल्ललाई प्रलोभनमा पारी मृतक सर्जनसँग विवाह गराएको र बिमाबापत ८० लाख रुपैयाँ लिएको कसुरमा मुद्दा चलाइने भएको छ । सबै आपराधिक लाभ हुने गरी सहभागी भएको आधारमा घटनाको मुख्य योजनाकार उनी नै भएको देखिन्छ ।
    त्यस्तै मिनीबस चालक टोपबहादुर भने सपनालाई विदेश लाने एजेन्ट चिनाइदिएको र ठक्करपछि घाइते भएका सर्जनलाई अस्पताल नलगी फरार भएको देखिन्छ । वारदातको समय(राति ११ बजे) उनले बस लिएर जानुपर्ने कुनै स्पष्ट आधारसमेत नदेखिएको पनि सीआईबीले जनाएको छ ।

    त्यस्तै दीपक केसीले सपनालाई बिमा रकम भुक्तानी लिन सपनालाई काठमाडौं आउन सघाएको र सपनाले पाएकोमध्ये ६० लाख रुपैयाँ लिएका थिए । उनीविरुद्ध पुरानो कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएकोसमेत अभियोग लागेको छ । ललिता सापकोटाले भने बिहे गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर सपनालाई सञ्जीवसँग चिनजान गराएकी थिइन् । उनी सञ्जीवको प्रेमिकासमेत भएको खुलेको छ । त्यस्तै बिमा अभिकर्ता खाँ पनि घटनामा स‌ंलग्न भएको देखिएको सीआईबीले जनाएको छ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, श्रावण १४ २०७९०८:५८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij