नेपाल र केन्या बीचको टी-ट्वान्टी अन्तर्गत अन्तिम खेलमा घरेलु टोली केन्यालाई हराउँदै पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।
नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्या २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमा रोक्यो। केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन, इरफान करिमले २८ रन, कोलिन्स ओबुयाले २३ रन बनाए।
यस्तै कप्तान शेम एन्गोचेले अविजित ३३ रन बनाउँदा नेल्सन ओधियाम्बो अविजित १३ रन बनाए।
नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए भने करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले। ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो।
यस्तै रोहित पौडेलले ४७ रन बनाए भने अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए।
आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए। विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे।
केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २-२ विकेट लिए। लुकास ओलुओचले १ विकेट लिए।
अब नेपालले घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij