देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह १ को पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद आशिष कुमार चौधरीले भोलि बिरामी भएर अस्पताल जानुभन्दा आजै स्वच्छ खानेपानीको व्यवस्थापनमा खर्छ गर्नु अत्यन्त बुद्धिमान कार्य हुने बताउनुभयो । सांसद चौधरीले आफुले आफ्नो कार्यकालमा खानेपानी तथा सरसफाईको क्षेत्रलाई विशेष महत्व दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले भौतिक बिकासले मात्र बिकास पूर्ण नहुने बताउँदै मानवीय बिकास महत्वपूर्ण रहेको औँल्याउनुभयो । मानवीय बिकासका लागि मानव स्वास्थ्य र स्वास्थ्यका लागि स्वच्छ खानेपानी अपरिहार्य रहेकाले देवदहको समग्र बिकासमा खानेपानी तथा सरसफाईलाई आफुले महत्वपूर्ण रुपमा लिएको बताउनुभयो । वडा तथा नगरको समुचित बिकासका लागि धेरै पक्षलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको औँल्याउनुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका प्रमुख गुणानिधी पोख्रेलले सुधार बिस्तार आयोजनाको रुपमा केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था रातो किताबमा समावेश भएको जानकारी दिनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिपक प्रसाद नेपालले संस्थाको बिकासका लागि आफुले हरेक तवरले सहयोग गर्ने बताउँदै टुक्रे योजनाहरुले बिकास हुन नसक्ने धारणा राख्नुभयो । उहाँले आगामी दिनमा एक दुई लाखका टुक्रे योजनाहरुले उपभोक्तालाई शास्ती मात्र दिने तर वास्तविक रुपमा काम नहुने भन्दै आफुले ५ लाखभन्दा कम रकमका योजना अगडी नबढाउने प्रतिवद्दता व्यक्त गर्नुभयो । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष दलबहादुर राकसकोटीले खानेपानी संस्थको बिकासका लागि आफ्नो क्षमताले भ्याएसम्म हरेक तहका सरकारसँग सहकार्य गर्न तयार रहने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष प्रजापति सापकोटाले जटिल अवस्थाबाट संस्थाको स्थापना र सञ्चालन गर्न सफल भएको स्मरण गर्दै मुहानबाट मुखसम्म पुग्ने हरेक क्रममा खानेपानी स्वस्छ हुनुपर्ने भएकाले खानेपानी क्षेत्रमा काम गर्ने सम्पूर्णले ध्यान दिन आवस्यक रहने बताउनुभयो । उपभोक्तालाई स्वस्छ खानेपानी बितरण गर्दै संस्थागत बिकासमा लाग्ने समग्र कालखण्डका पदाधिकारी तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई महाशाखा प्रमुख ध्रुव कुमार धिताल, नेपाली कांग्रेसका जिल्ला सह-सचिव बासुदेव रिमाल, नेकपा एमालेका जिल्ला सदस्य लक्ष्मी पङ्गेनी, नेकपा माओवादी केन्द्रका गोविन्द पङ्गेनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवदह अध्यक्ष माधव प्रसाद रिमाल, मायादेवी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाक अध्यक्ष चक्रपाणी तिवारि लगायतले बोल्दै खानेपानी तथा सरसफाईजस्तो मानव जीवनको लागि महत्वपूर्ण क्षेत्रमा काम गर्नु आफैमा ठूलो पूण्यकर्म भएको औँल्याउँदै खानेपानी संस्थाको समग्र बिकासका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष बोधराज गौडेलले अध्यक्षको प्रतिवेदन, सचिव दिपक पौडेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष घनश्याम डुम्रेले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समिती संयोजक साज मोहम्मदले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष गिता भण्डारीको स्वागत र सचीव दिपक पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यालयका बिद्यार्थीहरुले संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक तथा पुर्व पदाधिकारी, सल्लाहकार एवं कर्मचारीहरुलाई सम्मान गरिएको थियो । वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० प्वाइन्ट रगत संकलन भएको संस्थाले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij