देवदह। माघ २६ देखि सुरु भएको सातौँ राष्ट्रिय देवदह औधोगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको चौंथो दिन आज ५ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले जानकारी दिनुभयो।
महोत्सवमा आइतबार लोक गायक पहिलो दोहोरि च्याम्पियन प्रकाश पराजुली, लोक गायीकाद्वय ऋतु थापा र सिर्जना आले तथा हास्य कलाकार दिपेन्द्र वलि सहितका स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति राखेको मेलाका सांस्कृतिक संयोजक प्रशान्त गैरेले बताउनुभयो।
संयोजक गैरेका अनुसार सोमबार अर्थात् मेलाको पाँचौ दिन चर्चित आधुनिक गायक हिमाल सागर, लोक तथा दोहोरी गायीका मन्जु भट्टराई ,लोक गायक कुशल वेलवासे सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण' भन्ने मूल नारा सहित सुरु भएको महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा दैनिक गोष्ठी तथा सेमिनार सञ्चालन भैरहेको छ।
महोत्सवमा उद्योग, अटोमोबाइल, होटेल व्यवसाय, कृषि, मनोरंजन, विज्ञान प्रदर्शनी, जातिय पहिचान गरि २ सय वटा स्टल रहेका छन् ।मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन।
महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij