पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
काठमाडौं। पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि चैतसम्म सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन्। यो संख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ।
गत वर्ष वा २०७८ सालमा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। पछिल्लो दुई वर्षमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको तथ्यांक विश्लेषण गर्दा २०७८ सालको तुलनामा २०७९ सालमा एक लाख ६८ हजार १२२ जनाभन्दा बढीले श्रम स्वीकृति लिएको देखिन्छ।
२०७८ सालको वैशाख, जेठ र असारमा क्रमशः २३ हजार ८५ जना, पाँच हजार ६७६ जना र २० हजार ६५८ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालको वैशाखमा ४५ हजार २८७ जना, जेठ महिनामा ६२ हजार ३४९ जना र असारमा ६१ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार २०७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ४५ हजार ५६९ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेको संख्याा गएको वैशाखदेखि नै लगातार बढ्दै गएको विभागको तथ्यांकबाट पुष्टि हुन्छ।
विभागका महानिर्देशक उमाकान्त आचार्यले २०७९ को वैशाख महिनादेखि नै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको संख्या लगातार बढेको बताए। नेपाली नागरिकमा कोरोनाको खोपमा पहुँच पुगेसँगै पछिल्लो पटक नेपाली श्रमिकको मलेसिया र खाडीका देशमा उच्च माग आएको उनको भनाइ छ। गएको चैत महिनामा ६१ हजार ४७९ जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया १६ हजार २६५, दोस्रोमा साउदी अरब ११ हजार ३६४, तेस्रोमा कतार ११ हजार २४९ ले श्रम स्वीकृति लिएको देखिन्छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण नेपाल र नेपालीका श्रम गन्तव्य देशमा बन्दाबन्दी हुँदा आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले नयाँ नै कायम गर्न थालेको छ।
वैदेशिक रोजगार श्रमविज्ञ डा। गणेश गुरुङले कोरोनाले सानादेखि ठूला उद्योग व्यवसाय बन्द भएर बेरोजगारी बढेका वेलामा वैदेशिक रोजगारीले गति लिएकै कारण केही हदसम्म देशको अर्थतन्त्रलाई थेगेको बताए। नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतका रूपमा रहेको वैदेशिक रोजगार विगतका दुई वर्षमा घटेको देखिए पनि अब यसले गति लिने उनको भनाइ छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij