जेठ १७,देवदह । गौतम बुद्धको मावली स्थल एवं पुरातात्विक खयरडाँडा क्षेत्रको उत्खनन् कार्य सुरु भएको छ । लुम्बिनी विकास कोष र देवदह नगरपालिकाको विशेष पहलमा पुरातत्व विभागद्धारा कोलिय गणराज्यको राजधानी पुरातात्विक क्षेत्र खयर डाँडाको उत्खनन कार्य सुरु गरेको हो । लामो समयको पर्खाई पछि मात्र ऐतिहासिक तथा पुरातात्विक क्षेत्र खयरडाँडाको उत्खनन् कार्य सुरु गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनु भयो ।
कोषाध्यक्ष भट्टराईले भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक क्षेत्रको उत्खननका लागि पुरातत्व विभागलाई सवैभन्दा बलियो बनाउन आवश्यक रहेको औल्याउनु भयो । उहाले देवदह क्षेत्रको ६ वटा साईडहरु नष्ट भईसकेको र यसले ठूलो नोक्सानी भएको बताउनु भयो । लुम्विनी विकास कोष र पुरातत्व विभागले हरेक बर्ष ८-१० वटा साईडहरुको उत्खनन् गर्न आवश्यक रहेको बताउनु भयो । उहाले देवदह यही क्षेत्र हुनु पर्छ, देवदहको दरवार नभएपनि पुरातात्विक स्थल स्वतः हुने बताउनु भयो । उहाले उत्खननमा भेटिएका सामाग्रीलाई संग्राहलयमा राखिने बताउनु भयो ।

भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गरी वास्तविक देवदहको पहिचान गर्ने गरी उत्खनन् कार्य अगाडि बढाईएको र उत्खनन् पछि मात्र थाहा हुने पुरातत्वविद् हिमाल उप्रेतीले जानकारी दिनु भयो । देवदह क्षेत्रमा धेरै ऐतिहासिक स्थल रहेकोले प्राथमिकताको आधारमा उत्खनन् गर्दै जाने उहाले जानकारी दिनु भयो । लुम्बिनी विकास कोष पुरातात्वि विभागले उत्खनन् गर्न चाहेपनि समयमा गर्न नसकिएको उप्रेतीले जानकारी दिनु भयो । उत्खनन् पछि प्राप्त प्रमाणलाई स्वीकार गरेर जानुको कुनै विकल्प नभएको बताउदै देवदह क्षेत्रमा धेरै दरवारको भग्नावेश रहेको बताउनु भयो ।
उत्खनन् कार्यको शुभारम्भ कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धुब्र प्रसाद खरेलले ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताउनु भयो । उहाले लामो समयको पखाई पछि ऐतिहासिक स्थलको उत्खनन् कार्यको शुरु भएको र उत्खनन् कार्यलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले उत्खनन् क्षेत्रबाट प्राप्त सामाग्रीको नगरपालिकाले संरक्षण गरेर राख्ने बताउनु भयो ।
खयर डाँडाको उत्खनन् करिब एक महिना हुने र उत्खननमा हिमाल उप्रेतीको नेतृत्वमा ७ जना पुरातत्वविद्हरुको सहभागिता रहेको छ । उत्खनन् शुभारम्भ कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, लुम्विनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजुू, नगर प्रवक्ता गणेश डुम्रे, पुर्व नगर प्रमुख हिरा केसी, सरोकारवाला लगायत स्थानीय वासीहरुको विशेष उपस्थिती रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij