देवदह। देवदहको खयरडाँडा क्षेत्रमा प्राचिन इनार र मध्यकालिन भग्नावशेष फेला परेको छ। लुम्बिनी विकास कोषले 'बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा क्षेत्रमा १ महिना सम्म गरेको उत्खननका क्रममा करिब १४ देखि १६ औं शताब्दीको जस्तो देखिने भग्नावशेष, माटोको भाडा र इनार भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले बताए।
मध्यकालमा धार्मिक प्रयोजनका लागि निर्माण गरे जस्तो देखिने भग्नावशेष फेला परेको र परिक्षण पश्चात थप आधिकारिकता पुष्टि हुने पुरातत्व महाशाखा प्रमुख उप्रेतीले जानकारी दिए। उप्रेतीको नेतृत्वमा सातजनाको टोली उत्खननमा खटिएको थियो।
स्थानीयको दाबीअनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र भएको बताउदैं अहिले उत्खनन गर्दा मध्यकालीन अनुमान गरिएको भग्नावशेष भेटिएको र हाल बर्षादका कारण उत्खनन रोकिएको र भदौ देखि पुन: उत्खनन गर्दा पुरातात्विक रूपमा देवदहको पुष्टि हुने महत्वपूर्ण प्रमाणहरू भेटिने अपेक्षा रहेको उप्रेतीले बताए।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले कोषले उत्खनन कार्यलाई निरन्तरता दिने बताए। भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताहरूको दाबीअनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण भएको बताए।देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकालाई पहल गरिने भट्टराईले बताए।
देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्वीक क्षेत्रको उत्खननलाई निरन्तरता दिई उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरु लाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने उल्लेख गरिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij