तालिम १ सय दिन सम्म संचालन हुनेछ ।
देवदह । देवदहको सगरमाथा आवासिय माविमा राष्ट्रिय सेवा दलको सि.स. ४९ जुनियर डिभिजन एनसीसी प्रशिक्षण सुरु भएको छ । तालिममा विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ छात्रछात्रा सहभागी भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले बताउनुभयो । ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको र तालिम पश्चात विद्यार्थीलाई अनुशासन संगै प्राकृतिक बिपद, संकट तथा उद्धारमा कार्यमा सहयोग पुग्ने प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।

तालिममा सहभागी विद्यार्थीलाई विद्यालयमा संस्थागत तालिम दिइनेछ । तालिम अबधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन हुने गरुण दल गण, बुटवल, रुपन्देहीका सहायक गणपति ओम बहादुर अधिकारीले जानकारी दिनुभयो ।
तालिममा छात्रछात्राहरुलाई एफसी, बीसी, म्याप रिडिङ, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेलका साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने सहायक गणपति अधिकारीले बताउनुभयो। तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसीसी गठन भएको उहाँको भनाई थियो । तालिम पश्चात अनुशासित नागरिक बनाउन यसले मद्दत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने विश्वास व्यक्त गरिएको छ।
तालिमको उदघाटन समारोहमा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले वर्तमान समाजमा अनुशासनको कमि देखिएको महसुस गरिएको बताउनुभयो। उहाँले तालिमले समाजमा अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यार्थीलाई पुस्तक बाट प्राप्त हुने ज्ञान मात्र प्रयाप्त नहुने बताउंदै नगर प्रमुख खरेलले प्राक्टिकल र व्यावाहहारिक ज्ञान समेत हासिल गर्नुपर्ने बताउनुभयो। तालिमले कुनै प्राकृतिक बिपत्ति पर्दा उद्धारका लागि सहयोग हुने र चुनौतिको सामना गर्न सक्ने गरि फलदायी हुने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,देवदह नगरपालिका शिक्षा शाखा अधिकृत परशुराम ढकाल, वडा सदस्य रमेश खरेल लगायतले शुभकामान मन्तब्य व्यक्त गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम मरासिनीको अध्यक्षता, विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलको स्वागत र विद्यालयका सह प्राचार्य प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यस्थापन तथा संचालक समितिका सदस्य, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो।
के हो राष्ट्रिय सेवा दल ?
१) नेपालको सन्दर्भमा यूवा जनशक्तिको महत्व तथा आवश्यकतालाई मनन् गरी यूवा वर्गलाई संगठित गर्दै सही मार्गमा दोहोर्याई राष्ट्र विकासमा योगदान दिने अवधारणा अनूरुप वि.सं. २०२२ साल कार्तिक ७ गते राष्ट्रिय सेवा दलको स्थापना भयो ।
२) वि.सं. २०२४ साल फाल्गुण ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तत्कालीन राजा महेन्द्रबाट राष्ट्रिय सेवा दलले आफ्नो झण्डा प्राप्त गर्यो । सोही फाल्गुण ७ गतेको दिनमा हरेक बर्ष रा.से.द.ले आफ्नो बार्षिक समारोह मनाउने कार्य गर्दै आईरहेको छ ।
३) स्थापना कालदेखी वि.सं. २०३० सालसम्म सिनियर डिभिजन अन्तर्गत छात्रछात्राहरुलाई तालिम संचालन गरेकोमा नयाँ शिक्षा योजना लागू भए पश्चात वि.सं. २०३१ सालबाट वि.सं. २०७० सालसम्म सिनियर डिभिजन तालिम अन्त्य गरी जूनियर डिभिजन तालिम मात्र संचालन भएको हो ।
४) रा.से. द. को तालिम मार्फत अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देश भक्त स्वयम् सेवक जनशक्तिको निर्माण गरी नेपाल जस्तो प्राकृतिक विपद्को जोखिममा रहेको राष्ट्रलाई अमूल्य सहयोग मिल्न सक्ने कुरालाई मनन् गर्दै वि.सं. २०७१ बाट पूनः सिनियर र जूनियर गरी दूवै डिभिजनको तालिम संचालन भएको छ ।
५)राष्ट्रिय सेवा दल ऐन २०२७ मा आधारित रहेर अनुशासन नै राष्ट्र सेवाको मूल जड हो भन्ने आदर्श वाक्य लिएको राष्ट्रिय सेवा दल मार्फत हजारौं छात्रछात्राहरुले सफलता पुर्वक तालिम हासिल गरिसकेका छन् ।
६) स्थापना कालमा तत्कालिन श्री ५ को सरकारले राष्ट्रिय सेवा दलको तालिम संचालन तथा व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मेवारी दिएको छ । बिद्यमान अवस्थामा समेत नेपाल सरकारको यूवा विकास कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न नेपाली सेनाले जिम्मेवारी पाए अनूरुप नेपाल अधिराज्य भरिका माध्यमिक तथा उच्च माध्यमिक तहका बिद्यार्थीहरुलाई प्रासंगिक एवं सान्दर्भिक तालिम प्रदान गराई उनीहरुमा अनूभव र क्षमताको अभिबृद्धि गराउनुको साथै राष्ट्रप्रतिको उपयोगितालाई बढाउदै लैजान राष्ट्रिय सेवा दलको तालिम संचालन गरिरहेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij