शिक्षा
रुपन्देही । रुपन्देहीको सिद्दार्थनगर नगरपालिका विद्यालयले मावि तहको कक्षा ११ र १२ बिहानी अथवा दिवा सत्र जुनसुकै समयमा संचालन गर्न पाउने भएका छन् ।
शिक्षा नियमावलीको नियम ८४ को ७ अनुसार तोकिएको पाठ्यभारमा नघट्ने गरी विद्यार्थी संख्याको आधारमा एकै दिनमा एक भन्दा बढी समय (सिफ्ट) मा कक्षा सञ्चालन गर्न सक्नेछ भन्ने व्यवस्था भएकोले नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयले बिहानी तथा दिवा सत्रमा कक्षा संचालन गर्न पाउने सिदार्थ नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताउनुभयो ।

लुम्बिनी पाना सङ्ग कुरा गर्दै उपसचिव लम्सालले शिक्षा ऎनमा पनि पाठ्यभारलाई महत्त्व दिइएको र अधिकाश विद्यार्थी १० कक्षा पास गरेपछि जागिर अथवा विभिन्न सिपमुलक तालीम लिदै पढ्ने भएकोले विद्यार्थीले आफ्नो इच्छा अनुसार पढ्न पाउनुपर्ने कुरालाई प्राथमिकता दिएको बताउनुभयो ।
तिलोत्तमा, बुटवल लगायतका पालिकाले समेत दिवा अथवा बिहानी सत्रका कक्षा संचालनका सन्दर्भमा कुनै निर्णय नगरिसकेको र प्राय विद्यार्थी गुल्मी, पाल्पा, बागलुङ, स्याङ्जा, पर्वत लगायत पहाडी जिल्ला बाट अध्ययनका लागि आउने भएकोले उक्त क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै मावि तहको कक्षा ११ र १२ दिवा सत्रमानै अनिवार्य गर्ने संभावना नरहेको बताउनुभयो ।
सिद्दार्थ नगरपालिकाले पालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुले बिहानी सत्रमा कक्षा सञ्चालन गर्दा पाठ्यभार पुरा नगरेको भन्ने गुनासो प्राप्त भएकोले पाठ्यभार (क्रेडिट आवर) पुरा हुनेगरी मात्र कक्षा सञ्चालन गर्नुपर्ने, यस नगरपालिका भित्र कक्षा १२ सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुले हाल कुन सिफ्ट कति क्रेडिट आवरमा संञ्चालन भइरहेका छन सोको समय तालिका सूचना जारी भएको मितिले ७ दिन भित्र नगरपालिकाको शिक्षा शाखामा उपलब्ध गराउन समेत साउन २३ गते मंगलबार सूचना जारी गरेको छ ।
नगर भित्रका विद्यालयहरुले पाठयभार पूरा गरेको वा नगरेको भन्ने बारे नगरपालिकाले विद्यालयमै गएर अनुगमन गर्ने र नियमन गर्ने समेत उपसचिव लम्सालले जानकारी दिनुभयो।
६ रुपन्देहीकै देवदह नगरपालिकाले भने देवदह नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयहरुलाई कक्षा ११/१२ भदौ १ गतेदेखि अनिवार्य रुपमा दिवा सत्रमा संचालन गर्न सूचना जारी गरिसकेको छ।सूचना अटेर गरि बिहानी सत्रमा कक्षा संचालन गरेको पाइए अनुमति रद्द हुने सम्मको जानकारी विद्यालयको नाममा देवदह नगरपालिकाले जारी गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij