जनता माविमा शैक्षिक मेला
देवदह । लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले परम्परागत शिक्षाको युग अन्त्य भएकाले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ । सोइया महिला स्वाबलम्बी संथाको सहयोग र जनता माध्यमिक विद्यालय देवदह -८ मा बंगालीको आयोजनामा भएको एकदिने शैक्षिक मेलालाई सम्बोधन गर्दै सांसद न्यौपानेले परम्परागत शिक्षाको अन्त्य गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो।
कार्यक्रमको प्रमुख अतिथ सांसद न्यौपानेले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हातेमालो गरेर लाग्न आग्रह गर्दै विद्यालयको शैक्षिक, भौतिक प्रगतिको लागि आफुले सदैव सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो। उहाँले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक संगै व्यवहारिक शिक्षाको खाँचो रहेकोे बताउनुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नम्बर -८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेले देवदहलाई शैक्षिक हव बनाउनका लागि देवदह नगरपालिका लागिपरेको बताउनुभयो। प्राविधिक शिक्षाबिना देशमा दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा पुस्ता विदेशिन बाध्य बनेको बताउँदै वडा अध्यक्ष पाण्डेले दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले शैक्षिक मेलाले विद्यार्थीको सिकाई संस्कार प्रबर्दन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले सिकाई सहितको व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको प्रधानाध्यापक अर्यालको भनाई थियो।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, महामाया भवानीपुर माविका प्राचार्य ऋषिश्वर अर्याल, सोइया महिला स्वाबलम्बी संथाका व्यवस्थापक मेनुका न्यौपाने, विद्यालय व्यवथापन समितिका पूर्व अध्यक्ष एक नारायण ढकालले बोल्दै शैक्षिक मेलाले विद्यार्थी को सिकाईस्तर बृद्दी गर्न सहयोग पुग्ने बताउनुभयो।
शैक्षिक मेलामा सोइया महिला स्वभालम्बी संस्थाद्वारा शिक्षकहरूलाई प्रदान गरिएको सहकार्यात्मक शिक्षण विधिको मोडल कक्षा प्रदर्शन गरिएको थियो ।
मेलामा विद्यार्थीका अतिरिक्त क्रियाकलाप,शैक्षिक सामग्री स्टल, मेलामा कक्षा १ देखि १० सम्म विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्री साथै कृषि सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो।विद्यालयका अध्यक्ष खेम प्रसाद पान्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सोहि कार्यक्रममा शितल डेन्टल केयरले निशुल्क दन्त शिविर समेत संचालन गरेको थियो। दन्त शिविरमा २ सय ५० बढी विद्यार्थीको दाँत परिक्षण गरिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij